Logo

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल



काठमाडौं, असोज ७। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ । केन्द्रबाट आएको कुहिएको बास्मती चामल राखिएको गोदाम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सिल गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको ४ सय ८७ मेट्रिक टन बास्मती चामल राम्रो चामलसँग मिसाएर कर्णाली प्रदेशका दुर्गम जिल्लामा बिक्रीका लागि पठाएको समाचार प्रकाशित भएपछि डिभिजन कार्यालयले बिक्री वितरण नगर्ने भन्दै चामल गोदाम सिल गरेको हो ।

सुर्खेत जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, वीरेन्द्रनगर नगरपालिकाका घरेलु तथा उद्योग शाखा प्रमुख इन्द्रबहादुर थापा, नगर प्रहरी कार्यालयका हरिभक्त रोकाया, उपभोक्ता हित संरक्षण मञ्च नेपालका बिन्दुलाल रेग्मी, राष्ट्रिय उपभोक्ता मञ्चका आकाशतारा बयकलगायत सञ्चारकर्मीहरूको रोहवरमा कम्पनीको चामल गोदाम सिल गरिएको छ ।

डिभिजन कार्यालयका प्रमुख थापाले भने, ‘खाद्य कम्पनीको गोदाममा अनुगमन गर्दा काठमाडौंबाट आएको १९ सय ९० क्विन्टल बास्मती चामलमध्ये १५ क्विन्टल बिक्री गरिसकेको पाइयो, बाँकी १९ सय ७५ क्विन्टल चामल खाद्य कम्पनीको गोदाममा छ । हाल गोदाममा रहेको सो बास्मती चामल बिक्री वितरण नगर्न भन्दै गोदाम सिल गरिएको छ ।’

‘खाद्य कम्पनीको गोदाममा ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको ४ सय ८७ मेट्रिक टन बास्मती चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिल गरेको हो वा होइन र हाल सो बास्मती चामल खाद्य कम्पनीको थापाथाली गोदाममा छ वा छैन, यथार्थ के हो? जानकारी गराउन भन्दै विभागलाई बुधबार नै पत्र काटी इेमलमार्फत पठाइएको छ,’ उनले भने ।

उनले विभागलाई पठाएको पत्रको जवाफ हेरेर कारबाही प्रक्रिया बढाइने बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्