Logo

‘कांग्रेसबाट ४ जना मन्त्री हुनुभयो, तर यो पार्टीभित्र छलफलको आधारमा भएको होइन’ : डा. रामशरण महत (भिडिओसहित)



प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. रामशरण महतले मंसिरमै केन्द्रीय महाधिवेशन हुने विश्वास दिलाएका छन् । उनले आगामी महाधिवेशनमा आफ्नो समूहबाट को सभापतिमा उठ्ने भन्नेबारे छलफल भैरहेको सुनाए । तर, उम्मेद्धवारी दर्ता गर्ने समयमा सभापतिमा को उठ्ने ? भनेर सहमति हुने उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटर्वकबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘त्योभन्दा अघि म त के भन्छु भने सकेसम्म निर्बिरोध नै होस । सर्वसहमति नै होस, भएन भने चाहीँ दुई समूह अथवा सकेसम्म मिल्नसक्ने समूहहरु मिलुन भन्ने सबैको चाहना हो । त्यो हुने÷नहुने चाहीँ अन्तिममा थाहा हुन्छ ।’ प्रस्तुत छ नेता महतसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली काँग्रेसको अधिवेशन सरिरहेको छ, के कारणले यस्तो भयो ?

होइन, अब क्रियाशिल सदस्य मिलाउनको लागि केही समय लाग्यो । विभिन्न जिल्लामा विकृतिहरु भएको छ । धेरै ठाउँमा विधि मिचेर काम भएको छ । आफ्नो स्वार्थको लागि कामहरु भएको छ । १३÷१४ जिल्लामा अझै पनि टुङ्गो लागेको छैन । छानविन समितिले निर्णय गरेकोमा पनि विवादहरु देखिएका छन् । यस्ता कारणहरुले ढिला भएको हो । तर, धेरै जिल्लामा वडा अधिवेशन भइसकेको छ । अब पालिकामा पनि असोज ९ गते हुने कुरा छ । यसरी वडा, गाउँ र नगरहरुमा दशैंअघि सकिन्छ । दशैंपछि अन्य तहको पनि हुन्छ । त्यसपछि मंसिरसम्म केन्द्रीय महाधिवेशन हुन्छ भन्ने कुरा रहेको छ ।

स्थानीय तहको अधिवेशन असोज ९ गते गर्ने सम्भव छ ?

स्थानीय तहमा ५५–५६ जिल्लामा वडा तहमा निर्वाचन सम्पन्न भइसकेको छ । अब पालिका तहमा ९ गते हुने सम्भावना रहेको छ ।

हिजो भएको बैठकमा ९ गते गर्ने कुरामा सहमति भएको हो ?

मोटामोटी रुपमा अब सहमति भएको छ । अरु १३–१४ जिल्लामा पनि यो दशैंअघि गर्ने भन्ने कुरा रहेको छ । अहिलेसम्मको अवस्था हेर्दा ९ गते नै हुन्छ भन्ने विश्वास छ ।

त्यसो भए जिल्ला, प्रदेश र केन्द्रमा कांगे्रसको निर्वाचन दशैंपछि हुन्छ ?

हो । जिल्ला, प्रदेश र केन्द्रको सबै निर्वाचन दशंैपछि एकैपटक गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । हामीले छलफल गर्दा यस कुरामा सहमति भएको छ ।

महाधिवेशन नजिकिँदैछ, अहिलेसम्म सभापति कसलाई बनाउने भन्ने कुरामा सहमति भएको छैन, नेतृत्वको होडबाजी चलिरहेको छ, काँगे्रसले यो महाधिवेशनमा किन अस्वस्थ प्रतिस्पर्धा गर्दैछ ?

निर्वाचनमा अब यो पदमा म उठ्छु भन्ने धेरैको चाहना हुन्छ । नेतृत्वमा म उठ्छु, फलानो पदमा म उठ्छु भन्ने विभिन्न व्यक्तिको इच्छा होला । तर, अब को होला भन्ने कुरा उम्मेद्धवारी दर्ता हुन्छ त्यसपछि मात्र थाहा हुन्छ । अहिले नै यसमा बहस गर्न जरुरी छैन ।

तपाईंहरुले वडादेखि लिएर साँझा उम्मेद्धार बनाउन सक्नुभएको छैन्, शेरबहादुर देउवाको विपक्षमा लाग्नुभएको छ तर गठबन्धनलाई सशक्त रुपमा अघि बढाउन सक्नुभएको छैन्, किन यस्तो ?

त्यो त मैले अघि भनिसकें नि । जुनबेला उम्मेद्धवारी दर्ता गर्ने समय आउँछ, त्योबेला सहमति हुन्छ । त्योभन्दा अघि म त के भन्छु भने सकेसम्म निर्बिरोध नै होस । सर्वसहमति नै होस, भएन भने चाहीँ दुई समूह अथवा सकेसम्म मिल्नसक्ने समूहहरु मिलुन भन्ने सबैको चाहना हो । त्यो हुने/नहुने चाहीँ अन्तिममा थाहा हुन्छ ।

मन्त्रिमण्डलमा पनि शेरबहादुर देउवाले आफ्नो समूहका नेतालाई मात्र लग्नुभयो, रामचन्द्र पौडेलको पक्षबाट को–को मन्त्री बन्दैछन् ?

को बन्ने भन्ने कुरा चाहीँ अब मेरो भनाई के हो भने–एउटा सन्तुलन कायम गर्नुपर्छ । एकपक्षीय मात्र गर्ने होइन भन्ने कुरा हामीले भनिरहेका छौं । प्रधानमन्त्रीज्युले म रामचन्द्रजीसँग परामर्श लिएरमात्र जान्छु भन्नुभएको छ । तर, अहिलेसम्म परामर्श लिनुभएको छैन् ।

तपाईंहरुको पक्षले कतिवटा मन्त्रालय पाउँछ त ?

यसबारे कुनैपनि निर्णय भएको मलाई थाहा छैन् ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको छ, उहाँलाई सहयोग गर्नुहन्छ कि भागबण्डामात्रै खोज्नुहुन्छ ?

नेतृत्वलाई सहयोग त गर्नुपर्छ । अब काँगे्रस नेतृत्वको सरकार भएपछि सफल होस भनेर सहयोग सबैको हुन्छ । त्यसैले भागबण्डा त एउटा सन्तुलन हुनुपर्छ । सही मान्छे सही ठाउँमा हुनुपर्छ । उपयुक्त मान्छे हुनुपर्छ । एकपक्षीयमात्र पनि गर्नुहुँदैन । पार्टीमा विभिन्न समूहहरु छन् । पक्ष/विपक्षहरु छन् । विपक्षलाई पनि सहमति गराउनुपर्छ । पहिलेदेखिनै सन्तुलित ढंगले मन्त्रिमण्डल बनाउने परम्परा रहेको छ । अहिलेपनि त्यसरीनै बनाउनुपर्छ भन्ने धेरैको माग छ । हाम्रो पनि त्यही माग हो ।

यहाँहरुको त दिनहुँ बैठक भइरहेको छ, यसबारेमा प्रधानमन्त्री देउवाको प्रतिक्रिया के छ ?

यसबारेमा त्यति छलफल भएको छैन् । म मिलाउँछु त प्रधानमन्त्रीज्यु पनि भन्नुहुन्छ । तर, अहिलेसम्म भएको छैन् ।

कांग्रेसभित्रबाट ४ जना मन्त्री बन्नुभएको छ, मन्त्री बनाउँदा पार्टीभित्र छलफल भएको हो ? यसमा तपाईंहरुको सहमति छ ?

पार्टीभित्र छलफलको आधारमा भएको होइन । प्रधानमन्त्रीज्युले आफैं नियुक्ति गर्नुभएको हो । विमति होइन, उपयुक्त ठाउँमा उपयुक्त मान्छे हुनपर्छ भन्ने हाम्रो कुरा हो । हिजो डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्नुभयो । त्यो ठिक छ । अब यतातिरका मान्छेलाई पनि राख्नुपर्यो भन्ने कुरा हामीले राखेका छौं । हुन्छ भनेर उहाँले भन्नुभएको छ । तर, अहिलेसम्म भएको छैन् ।

कालो धन शुद्धिकरणको पक्षमा ल्याइएको बजेट अहिले विवादित भएको छ, तपाईं यसको पक्षमा कि विपक्षमा ?

लगानीमा त सम्पति शुद्धिकरणमा छानविन गर्न सकिन्छ नी । गलत ढंगको लगानीमा स्रोत थाहा हुनुपर्छ । त्यो राम्रो हो ।



प्रतिक्रिया दिनुहोस्