Logo

अफगान भूमिबाट आतंकवादी गतिविधि हुँदैन भन्नेबारे तालिवानले आश्वस्त पार्नुपर्छ : जयशंकर



काठमाडौँ, ७ असोज। भारतीय विदेशमन्त्री एस जयशंकरले तालिवानले अफगान भूमि आतंकवादका लागि प्रयोग गर्न नदिने कुरामा सबैलाई आश्वस्त पार्नुपर्ने बताएका छन् । बुधबार संयुक्त राष्ट्रसंघको ७६औं महासभाका अवसरमा जी–२० राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा जयशंकरले तालिवानले अफगान भूमि आतंकवादका लागि प्रयोग गर्न नदिने कुरामा सबैलाई आश्वस्त पार्नुपर्ने बताएका हुन् ।

अफगानिस्तानमा समावेशी सरकार, सबै वर्ग र समुदायको प्रतिनिधित्व पनि विश्व समुदायले चाहेको उनले बताएका छन् । ‘मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय समुदाय एकसाथ उभिनुपर्छ । बिनाप्रतिबन्ध र बिनारोकावट सीधा सहायता उपलब्ध गराउनुपर्छ,’ जयशंकरले सम्बोधनका क्रममा भनेका छन् ।

तालिवानले अन्तरिम सरकार पनि बनाइसकेको छ तर, पनि अन्तर्राष्ट्रिय समुदायबाट मान्यता पाइसकेको छैन । त्यस्तै मन्त्रिमण्डलमा महिला र अल्पसंख्यक समुदायको प्रतिनिधित्व नभएकाले पनि तालिवानको आलोचना भइरहेको छ ।

तालिबानले भने अन्तर्राष्ट्रिय समर्थन जुटाउन प्रयास गर्दै आएको छ । केही दिनअघि मात्रै तालिवानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई पत्र लेख्दै महासभामा सम्बोधनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो । तालिवानले अफगान भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन नदिने पनि बताएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्