Logo

चुनावसम्म पाँच दलीय गठबन्धन कायम हुन्छ, प्रचण्डसँग पार्टी एकता हुँदैन् : डा. भुषाल (भिडिओसहित)



काठमाडौं, ८ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव डा. वेदुराम भुषालले नेकपा (एमाले) ले नीति र विचारको हिसाबले गलत बाटोमा गएपछि आफूहरुले विद्रोह गरेको स्पष्ट पारेका छन् । तर, एमाले नफुटाएको उनको दाबी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमाले र आफूहरुको पार्टीमा धेरै फरक रहेको सुनाए ।

उनले आफूहरु समाजवादी क्रान्तिको दिशामा अघि बढेको पनि सुनाए । र, यो नै आफूहरुको मूल कार्यदिशा हुने पनि उनले जनाए । उनले एमाले अझैपनि समाजवादतर्फ जान नचाहेको टिप्पणी गरे । उनले आफूहरुले बनाएको पदाधिकारी जम्बो नभएको पनि जिकिर गरे । उनले आफूहरुले प्रदेशवाईज सात जना उपाध्यक्ष राखिएको पनि सुनाए । र, सचिव पनि सातै जना राखिने उनले स्पष्ट पारे ।

संविधान र लोकतन्त्रको रक्षाको लागि आफूहरु पाँच दलीय गठबन्धन बनाएको र यो गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने पनि उनको दाबी छ । उनले संसद्लाई पूर्ण कार्यकाल कायम राख्ने सुनाए । उनले आफूहरुले नेकपा (माओवादी केन्द्र) सँग पनि एकता नगर्ने स्पष्ट पारेका छन् । एमालेसँग पनि एकता हुने कुरै नभएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्