Logo

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल



–कमल खत्री बेनी, ८ असोज: म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ । पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो ।

धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारकै सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटक यतिबेला हेलिकोप्टरको प्रयोग गर्न थालेका छन् । सरकारले भदौ दोस्रो सातादेखि हिमाल आरोहण खुलाएसँगै धौलागिरिको आरोहण र भ्रमण गर्न बाह्य तथा आन्तरिक पर्यटक आउन थालेका छन् । “अधिकांश आरोही, पर्यटक, पथपर्दशक, भरियालगायत हेलिकोप्टरमार्फत आधार शिविर पुग्न थालेका छन्”, धौलागिरि–४ बगरका सुकबहादुर सुनारले भन्नुभयो, “यस याममा ६ शेर्पा मात्र पदमार्ग हुँदै आधार शिविर गएका छन् ।” हेलिकोप्टरको प्रयोग गरी झण्डै ८० जना आधार शिविर पुगेका उहाँले बताउनुभयो । केही पर्यटक मुस्ताङको मार्फा हुँदै आधार शिविर पुगेका छन् ।

अघिल्ला वर्षहरुमा एउटा याममा दुई पटकसम्म खच्चडबाट सामान ढुवानी गरी आधार शिविर पु¥याउने गरिन्थ्यो । यस पटक भने पदमार्ग हुँदै पर्यटकको आगमन भएको छैन । केही वर्षयता धौलागिरि जाने पर्यटकले हेलिकोप्टरको प्रयोग बढी गर्न थालेका छन् । काठमाडौँबाट विभिन्न सवारीसाधन प्रयोग गरी धौलागिरि–७ ताकम र त्यहाँबाट हेलिकोप्टरमा आधार शिविर पुग्ने क्रम बढेको छ । पदमार्ग सुनसान बन्दा स्थानीय होटल व्यवसायी र खच्चड व्यवसायी मारमा परेका छन् ।

आधार शिविरमा पर्यटकको बाक्लो उपस्थिति हुँदा पदमार्गअन्तर्गतका दोभान र इटाली क्याम्पका होटल पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् । पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा पर्यटक महँगो शुल्क तिरेरै हेलिकोप्टरमा गन्तव्यतर्फ लाग्ने गरेका छन् । पछिल्लो समय पदमार्गमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले समेत पदमार्ग निर्माण गर्दै आएका छन् भने सञ्चारको पहुँचसमेत बढाउँदै लगिएको छ ।

अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि पदमार्गको यात्रा साहसिक मानिन्छ । भदौ अन्तिम सातादेखि आधार शिविरमा ओरोही पुग्ने क्रम बढेको छ । यस याममा आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविरमा पुगेका छन् । ‘सेभेन समिट ट्रेक्स’बाट आरोहणका लागि ४६ जनाको टोली आधार शिविरमा पुगेको छ । ‘पाइनर एडभेन्चर’ र ‘हिमालयन गाईड’मार्फत पनि पर्वतारोही आधार शिविरमा पुगेका छन् । सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाई भारी वर्षा र ७२ घण्टे पीसीआर रिपोर्टको मापदण्डका कारण अधिकांश आरोही म्याग्दीबाट हेलिकोप्टरमा आधार शिविर पुगेको बताउनुहुन्छ । उनीहरु विभिन्न सवारी साधनमा धौलागिरि–७ ताकम र मङ्गला गाउँपालिकाको बाबियाचौर हुँदै त्यहाँबाट हेलिकोप्टरमा आधार शिविर पुगेका हुन् । “हाम्रो व्यवस्थापनमा यस याममा २६ विदेशी र २१ नेपाली पर्वतारोहीले धौलागिरिको आरोहण गर्दै छन्”, उहाँले भन्नुभयो ।

धौलागिरिको पहिलो आरोहणको तयारीमा रहनुभएकी पत्रकार पूर्णिमा श्रेष्ठले आफू मार्फा हुँदै पदमार्ग भएर आधार शिविरतर्फ प्रस्थान गरेको जानकारी दिनुभयो । उहाँले गत वर्ष वैशाखमा नेपाली महिलाको तर्फबाट पहिलोपटक धौलागिरिको सफल आरोहण गर्ने प्रयास गर्नुभएको थियो । “त्यो बेला आधार शिविरमा कोरोना सङ्क्रमण फैलिएपछि आरोहण स्थगित ग¥यौँ”, उहाँले भन्नुभयो । यस पटक तीन महिला पुनः आरोहणका लागि आधार शिविर गएका छन् । पदमार्ग पहिराका कारण जोखिमपूर्ण रहेको श्रेष्ठले बताउनुभयो ।

दुई कीर्तिमानको प्रयास गरिँदै

यस पटक धौलागिरिमा दुई कीर्तिमानका लागि प्रयास गरिँदै छ । नेपाली महिला टोली पहिलो पटक धौलागिरि आरोहणको कीर्तिमानको तयारीमा छ । पूर्णिमा श्रेष्ठ, पासाङल्यामु शेर्पा र माया शेर्पा आरोहणको तयारीमा छन् । उक्त टोलीले अघिल्लो याममा अन्नपूर्ण हिमालको कीर्तिमानी आरोहण गरेको थियो । नेपाली महिलाले अहिलेसम्म धौलागिरिको आरोहण गर्न सकेका छैनन् ।

यस्तै सबैभन्दा बढी उमेरमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाउने प्रयास समेत यस पटक गरिँदै छ । स्पेनका ८२ वर्षीय कार्लोस सोरिया सो कीर्तिमान बनाउने प्रयास गर्दै हुनुहुन्छ । उहाँ सेभेन समिटको व्यवस्थापनमा धौलागिरि आरोहणका लागि आधार शिविर पुगिसक्नुभएको छ । धौलागिरि हिमाल आरोहण गर्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसले दुई दशकयता ११औँ पटक प्रयास गर्दा पनि धौलागिरिको शिखरमा पाइला राख्न सक्नुभएको छैन ।

गत वैशाखमा समेत कार्लोसले धौलागिरि आरोहणको प्रयास गर्नुभएको थियो । कार्लोसले आफ्नो ६० देखि ८२ वर्षको उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजङ्गा, अन्नपूर्णसमेत आठ हजार मिटर अग्ला १२ हिमालको अरोहण गरिसक्नुभएको छ । कीर्तिमानको प्रयासमा रहेका दुवै टोलीले यही असोज २९ गतेसम्ममा धौलागिरि आरोहण गरीसक्ने योजना बनाएको छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्