Logo

आउने निर्वाचनमा प्रचण्डसँग लड्ने बादलको घोषणा



काठमाडौं, ८ असोज । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा चितवनबाट प्रचण्डसँग चुनाव लड्न सक्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीले आफूलाई अघि बढाए चुनावमा प्रचण्डसँग लड्न तयार रहेको बताएका हुन् । बादल माओवादी केन्द्र छोडेर एमालेमा लागेका छन् । यसअघि उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका थिए । पछिल्लो समय एकपछि अर्को गरेर माओवादी केन्द्रका कार्यकर्ताहरुले प्रचण्डको साथ छोडेको बादलको भनाई छ ।

अहिले ती नेता तथा कार्यकर्ताहरु आफूहरुतिर आएको उनको दाबी छ । हिजोमात्रै काभ्रेमा आयोजित वाईसिएलको भेलामा सम्बोधन गर्दै प्रचण्डले बादललाई आफूले मन्त्री बनाएको उल्लेख गर्दै अहिले बादलको नाम लिँदा पनि एलर्जी हुने टिप्पणी गरेका थिए ।

उनले बादल, टोपबहादुर रायमाझीलगायतका पूर्व माओवादी नेताहरुलाई अवसरवादीको संज्ञा दिएका थिए । त्यसको भोलिपल्ट आज बादलले प्रचण्डसँग अबको चुनावमा लड्ने बताएका हुन् । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्