Logo

अदालतभित्रै ग्याङस्टर ढालिए, विरोधी समूहका दुई पनि ठहरै (भिडियोसहित)



एजेन्सी, ८ असोज । अदालतमा ग्याङ्स्टर लगिएका थिए । उनका विरोधी समूहका दुईजना छिरेर गोली चलाउन थाले । ग्याङ्स्टरको ढलेपछि सुरक्षाकर्मीले हमलाकारीमाथि गोली चलाएर मारिदिए ।

यो घटना नयाँ दिल्लीको रोहिणीस्थित अदालतमा भएको हो । जहाँ जेलमा राखिएका ग्याङस्टर गोगी भनिने जीतेन्द्र मानमाथि दुई सशस्त्र व्यक्तिले गोली चलाएका थिए । ६ गोली लागेर घाइते गोगीलाई नजिकैको अस्पताल लगिएपनि मृत घोषित गरिए ।

गोगीसँग रहेका सुरक्षाकर्मीले प्रतिकारमा गोली चलाए । त्यस क्रममा दुवै हमलाकारी मारिए । हमलाकारीसुनिल भनिने तिल्लु समूहका थिए ।

केही महिना अघि गोगीका सहयोगी फज्जा भनिने कुलदिप अदालतमा लगिदै गर्दा प्रहरी हिरासतबाट भागेका थिए । त्यसपछि गोगीलाई कडा सुरक्षाबीच अदालत लगिन्थ्यो ।

गोगीको समूहका उनी र सुनिल मानलाई शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । उनीहरुमाथि हत्याको अभियोग दर्ता छ । गोगीलाई अदालतमा उपस्थित गराउँदा उत्तर प्रदेशको भागपथका राहुल र बकारवाला गाउँका मोरिस वकिलको भेषमा पुगेर गोली हानेका थिए ।

सुरक्षाकर्मीले जवाफमा ८ राउन्ड गोली प्रहार गरेका थिए । जसमा पेस्तोल र एके ४७ को समेत प्रयोग भएको थियो । गोगीमाथि गोली हान्नेले .३८ बोर र .३० बोरको पेस्तोल प्रयोग गरेका थिए ।

गोगी अलिपुर र सोनिपत क्षेत्रमा अपहरण र जर्बजस्ती असुलीमा संलग्न रहँदै आएका थिए । पछिल्ला ६ वर्षमा त्यस क्षेत्रका दुई आपराधिक समूहबीचको भिडन्तमा १० व्यक्ति मारिइसकेका छन् ।
गोगी र तिल्लुबीच दुश्मनी थियो । गोगी तिल्लुको हत्या गर्ने उद्देश्यका साथ लागेका थिए ।



प्रतिक्रिया दिनुहोस्