Logo

ओली रावलसहितका नेताहरुलाई पेलेको पेलै



काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पेलेरै शक्ति विस्तारतर्फ बढेका छन् । उनले विगतमा सहमति गरेको १० बुँदे हुबहु कार्यान्वयन नगर्ने स्पष्ट पारिसकेका छन् । विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिमा १० प्रतिशत मनोनितमा सबैजसो आफ्ना निकटस्थलाई पार्न खोजेका छन् ।

१० बुँदे कार्यान्वयन र प्रतिनिधिको विषयमा उपाध्यक्ष भीम रावलसहित विगतमा माधव नेपाल पक्षमा रहेकाहरुले प्रश्न उठाएका छन् । उनीहरुले बैठकमा एजेन्डाको रुपमा यी विषय उठाएपनि अध्यक्ष ओलीले आजको बैठकको एजेन्डा बन्न नसक्ने जवाफ दिए । उनले स्थायी कमिटीमा यी विषय उठाउन भने । त्यसपछि बैठकमा चर्काचर्की परेको थियो ।

ओली कुनै हालतमा रावलसहितका नेताहरुप्रति लचिलो छैनन् । उनीहरुको भूमिका आफू नेतृत्वको सरकार ढाल्न र पार्टी फुटाउनतर्फ रहेको विषय राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

माफी दिएको शैलीमा विषय समावेश गरेका छन् । ओली अब यी उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत उक्त धारका नेताहरुलाई पेलेरै जाने रणनीतिमा देखिएका छन् ।

ओलीले १० बुँदे सहमतिका पक्षधरहरुलाई विगतमा प्रचण्डको सारथी भनेका छन् । गुटबन्दीमा लागेको आरोप लगाएका छन् । आफू नेतृत्वको सरकारलाई विस्थापित गर्न १० बुँदे सहमति गर्नेहरु लागेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्