Logo

म एकीकृत समाजवादीमा जाने हल्ला मात्र होः ठाकुर गैरे



काठमाडौं, असोज ९ । नेकपा एमालेका नेता ठाकुर गैरेले आफू एकीकृत समाजवादीमा जाने हल्लामा कुनै सत्यता नभएको बताएका छन् । १० बुँदे सहमति कार्यान्वयनमा आएका समस्या केन्द्रीय कमिटीले समाधान गर्ने उनको दाबी छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उनले भने, “यस्ता हल्लाको पछि लाग्न आवश्यक छैन । यो बहस वा छलफल गर्नुपर्ने विषय पनि होइन । नयाँ पार्टी गठन गर्नु आवश्यक छैन भनेर नै हामी एमालेमा रहेका हौं । अहिले एमालेको विधान महाधिवेशनको माहोल लागिसकेकाले त्यस्ता अनर्गल प्रचारबारे म कुनै टिप्पणी गर्दिनँ ।”

एमाले नेता गैरेले १० बुँदे सहमति कार्यान्वयनमा भएका विवाद केन्द्रीय कमिटीको जारी बैठकले नै समाधान गर्न सक्ने दाबी गरे । उनले थपे, “अहिले केन्द्रीय कमिटी बैठक जारी छ । हामी उत्साहसाथ विधान अधिवेशनमा जाने वातावरण बनाउनुपर्ने पक्षमा छौं । १० बुँदे सहमति कार्यान्वयनमा सुदूर पश्चिम प्रदेशलगायत ठाउँमा केही अलमल देखिएका छन् र प्रश्न उठेका छन् । माथिल्लो कमिटीको निर्णय तल्लो कमिटीमा कार्यान्वयन भएन भने त्यो व्यक्तिको नभएर पार्टीकै समस्या हुन्छ । १० बुँदे सहमति कार्यान्वयनमा उठेका विवाद केन्द्रीय कमिटीले समाधान गर्न नसक्ने विषय होइन ।”



प्रतिक्रिया दिनुहोस्