Logo

हामीलाई बहुमतले पेलियो भने परीणाम के आउँछ भनेर म अहिले भन्न सक्दिन् : जोशी (भिडिओसहित)



काठमाडौं, ९ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनको लागि दश बुँदे सहमति कोशेढुंगा सावित भएको सुनाउँदै सहमति हुबहु कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । जोशीले दश बुँदे कार्यान्वयन नभएको भन्दै सुदुरपश्चिम प्रदेशको उदाहरण दिए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले दश बुँदे सहमतिअनुसार बैठकसमेत नबसेको गुनासो पोखे । उनले भने,‘हामी विद्यान महाधिवेशन गर्दैछौं, अनि हामी विद्यान किन मान्दैनौं ? पार्टीको निर्णय किन मान्दैनौं ? हामीले बैठकमा अपानी कार्यान्वयन किन भएन भनेर प्रश्न गरेका छौं । अपानी कार्यान्वयनमा बुझाई किन फरक फरक ? भनेर पनि हामीले सोधेका थियौं । जिल्ला जिल्लाबाट प्रतिनिधि छनौट गर्ने कुरा ढिला भैसक्यो, अहिलेसम्म प्रदेश कमिटीको बैठक किन बसेन ?’

उनले जिल्लामा अलग अलग गुटको बैठक बस्नु शोभनीय नभएको टिप्पणी गरे । उनले हिजोको बैठकमा आफूले निकास दिनुहोस भनेर नेतृत्वलाई ध्यानाकार्षण गराएको स्मरण गराए । उनले पार्टीमा आफूहरुलाई बहुमतले पेलियो भने परीणाम के आउँछ भनेर अहिले भन्न नसक्ने पनि बताए । उनले पार्टीभित्र आएका समस्या समाधान गर्न नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिए । उनले आफूहरु चुपचाप सहेर नबस्ने पनि चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्