Logo

संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र कायम गर्न असोज ११ गते काठमाडौंमा विरोधसभा गर्ने घोषणा (भिडिओ सहित)



काठमाडौँ, ९ असोज । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले २०७२ सालमा जारी भएको संविधानको खारेजीसँगै सैवैधानिक राजसंस्था कायम गर्न यही असोज ११ गते काठमाडौं बृहत्त विरोध सभाको आयोजना गर्ने घोषणा गरेको छ । उक्त सभामा सहभागी हुन पनि मोर्चाले आम नागरिकलाई आह्वान गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) पत्रकार सम्मेलनको आयोजना गरेर मोर्चाले उक्त विरोधसभामा हुनको लागि आह्वान गरेको छ । ०७२ को संविधानले नेपालको अखण्डता, राष्ट्रियता, धार्मिक स्वतन्त्रतालाई हनन गरिरहेको र संविधान विदेशीको ईशारामा ल्याइएको भन्दै उक्त संविधानलाई खारेज गरि संवैधानिक राजसंस्था देशमा अपरिहार्य रहेको बताउँदै मोर्चाले आन्दोलनको आह्वान गरेको छ । संविधानमा उल्लेख गरिएका संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको नाममा सरकारमा बसेका दलले मुलुकलाई विदेशीको हातमा पुर्याइसकेको पनि मोर्चाको गम्भीर आरोप छ ।

संविधान खारेजीसँगै संवैधानिक राजसंस्थाले मात्रै मुलुकलाई निकाश दिने मोर्चाको ठम्याई छ । त्यस्तै, एमसीसी परियोजना राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई पनि कार्यान्वयनमा ल्याउन नहुनेबारे मोर्चाले सचेत गराएको छ ।

मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले ०६२–६३ को आन्दोलन र संविधानसभा आफूले हेरेको सुनाए । राजाले आफ्नो गद्दी छाडेर जनताको संविधानलाई स्वागत गरेको स्मरण गराए । तर, विदेशीले ल्याइदिएको संविधान नेपाली जनताको लागि घाँडो भएको स्पष्ट पारे । उनले भने, संविधानलाई उत्कृष्ट संविधान घोषित गरियो । तर, के यो नेपाली जनताको लागि बनेको हो त ? जनताका लागि के छ र संविधानमा यसलाई कहिले कार्यान्वयन गर्ने ?’

नेपाल स्वच्छ नभएको र राष्ट्रपति पनि पार्टीकै व्यक्ति हुनु देशको लागि दुःखद् अवस्था रहेको उनको भनाई छ । उनले भने,‘श्रीपेचको सुरक्षा गर्न नसक्ने सरकारले जनताको सुरक्षा कसरी गर्छ ? राज्यले कुमारीलाई सुरक्षा दिनसकेको छैन् । राजा नआइ देश जोगिन्न । बेलायतमा समेत यस्तो अवस्था आएको थियो ।’

आफूहरुले अघि सारेका एजेन्डालाई जनतासमक्ष पुर्याइदिन पत्रकारसमक्ष आग्रह गरे । गणतन्त्रले समेत नेपाली जनतालाई सुख प्रदान गर्न नसकेको उनको भनाई छ । अहिलेको सरकार बनेको ७२ दिन बितिसक्दापनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलको विस्तार गर्न नसकेको उनले आरोप लगाए । राजा र दल दुवैले मिलेर देश चलाउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता विष्णु भट्टराईले विश्वमा हिन्दू धर्मको एकमात्र देश नेपाललाई ईसाइकरण गर्न खोजिएको भन्दै सरकार पक्षमाथि आरोप लगाए । स्वीस बैँकमा नेपालीको अरबौँको भ्रष्टाचारको पर्दाफास भएसकेको उनले सुनाए । उनले भने,‘प्रधानन्याधीश संवैधानिक इजलासमा बस्नुहुँदैन भन्छन् । तर, यहाँ बस्दो रहेछ । नेपालमा प्रधानमन्त्री परमादेशले नियुक्त हुन्छ । बुद्व भूमिमा १७ हजार मानिस मार्ने व्यक्तिले नेपाल चलाईरहेको छ ।’

नेपाललाई संवैधानिक राजसंस्था बनाउनुको विकल्प नरहेको पनि उनले स्पष्ट पारे । आफूहरुले अघि सारेका माग र मुद्दाको सवालमा संयुक्त रुपमा गएमात्र देशले निकास पाउने उनको भनाई छ । यही असोज ११ गते ११ बजे भृकुटीमण्डपबाट विरोधसभा सुरु भएर बसन्तपुरमा पुगेर कोणसभा गरिने जानकारी गराए । उनले सम्पूर्ण नेपालीलाई विरोधसभामा आउन र सहभागी हुन आग्रह गरे ।

उनले भने,‘प्रचण्डले तीन दिन अघि भनेका थिए की प्रतिक्रियावादी संविधानलाई खारेज गर्नपर्छ । यो नक्कली दस्तावेज हो ।’ उनले नेपालको संविधान २०७२ फास्ट–ट्रयाकबाट निर्माण गरिएको संविधान रहेको सुनाए । उनले संविधान कसले बनायो भन्ने प्रस्ट नरहेको बताए । उनले कसले बनायो यो संविधान भन्दै प्रश्न गरे । संविधानले संघीयता, धर्मनिपेक्षतालाई लिएर नेपालको संस्कृति मास्ने काम भएको बताए । नेपालको राष्ट्रिय रंङभन्दा फरक संविधानमा ‘बाइबल’ कलर किन राखियो भन्दै उनले प्रश्न तर्साए । एमसीसीको आर्टिकल–५ अमेरिकाको कानून र भविष्य भन्दामाथि नेपालको कानुन भयो भने एमसीसी नेपालको कानूनभन्दा माथि हुने व्यवस्था गरिएको उनले प्रष्टाए ।

त्यसैगरि कार्यक्रममा संयुक्त जनआन्दोलन मोर्चाका संयोजक हरिबोल भट्टले आज मुलुक दुरावस्थामा पुग्नुमा व्याप्त भ्रष्टाचारको हात रहेको बताए । उनले भने,‘विदेशीको हातमा देश छ । यो संविधान नेपाली बनाएको हैन । जबरजस्ती कलम चलाउन लगाए विदेशीहरुले लेख्न लगाएको संविधान हो ।’ राजा र प्रजा दुवै एकात्मक प्रणालीबाट देशको निर्माण पृथ्वीनारायण शाहले गरेको सुनाए । तपोमूमि नेपालमा २००७ सालमा प्रजातन्त्र आएको थियो त्यसलाई राजाले समेत साथ दिएका उनले सुनाए । राजाले सम्पूर्ण देशबासीको आकांक्षालाई सम्मान गरेको सुनाए । देश जोगाउन राजाले माओवादीहरुलाई जोगाएको उनले बताए । राजाले सदैव जनताको साथ दिने गरेको सुनाए । राजा कहिले पनि निरंकुश नभएको उनको भनाई छ ।

उनले भने, ‘राजतन्त्र र गणतन्त्र मिल्यो भने मात्र राष्ट्रियता बलियो हुन्छ । राष्ट्रलाई जोगाउन सम्पूर्णलाई लिएर अगाडि बढ्नुपर्ने हुन्छ ।’ राजसंस्था ल्याएमात्रै मुलुकमा राष्ट्रियता साँचो अर्थमा झल्किने उनले स्पष्ट पारे । राजासहितको संविधान निर्माण गरि अघि बढ्नुपर्ने उनको धारणा थियो । विरोधसभामा आउन समपूर्णलाई विनम्र अनुरोध गरे ।

त्यसैगरी कार्यक्रममा संयुक्त जनआन्दोलन मोर्चाका वरिष्ठ उपाध्यक्ष श्रीराम कँडेलले मुलुकको अहिलेको अवस्था खराब रहेको सुनाए । उनले भने,‘हामी कुन कुरामा गौरवान्वित हुने ? यो मुलुक आर्थिक, सामाजिक रुपमा फसिसकेको छ । हाम्रो देशको धर्म, संस्कृति विदेशीले मासिसकेको छ । हाम्रो पहिचानलाई अरुले आएर भन्दा मात्र तालि ले स्वागत गर्छौँ । तर, आफ्नो पहिचालाई जोगाउन किन सक्दैनौँ ।’ उनले नेपालका नेताहरुले आफ्नो धर्म र पहिचानलाई विदेशीलाई बेचिसकेका दुःखेसो पाखे ।
संघीयता, भर्मनिरपेक्षताले नेपाललाई विदेशीकरण गरिसेकेको उनको टिप्पणी छ । उनले भने,‘हामीले आफ्नो संस्कृतिलाई बेच्न पुगेका छौँ । संवैधानिक राजसंस्था नै नेपालमा अपरिहार्य रहेको छ । यसले देशलाई पहिचान दिलाउँछ ।’ धर्मनिपेक्षताको नाममा पश्चिमाहरुले नेपालीहरुलाई एक–अर्कासँग लडाईरहेको पनि उनको भनाई छ । संघीयताले देशलाई धाराशयी बनाएको उनले स्पष्ट पारे । उनले पनि असोज ११ हुने विरोधसभामा आउन सम्पूर्णलाई आग्रह गरेका थिए ।

त्यसैगरी जनआन्दोलन मोर्चाका सल्लाहकार विक्रम बमले बाघ र बाख्रा एउटै ठाँउमा बस्नसक्ने नेपालजस्तो मुलुकमा धर्मनिरपेक्षता बनाईनु दुःखद् भएको बताए । उनले भने,‘११ गतेको हाम्रो जनपदर्शन गणतन्त्र, संधियता र धर्मनिपेक्षता तीन विषयमा हाम्रो केन्द्रित छ । यसलाई अहिलेको सरकारले खारेज गर्नपर्छ । खारेज नभएसम्म हामी यो संविधान मान्दैनौँ ।’ संविधान खारेज गरेर छाड्ने उनको भनाई छ ।

त्यसैगरी, कार्यक्रममा जनआन्दोलनका वरिष्ठ उपाध्यक्ष दिनेश कँडेलले देशको अहिलेको अवस्था र संविधानले नेपाली जनता दुःखी भएको टिप्पणी गरे । उनले भने,‘संविधानले कति सुख जनताले पाएको छ भन्ने विषय प्रष्ट छ ।’ हक, अधिकारविहिन बनाउन खोज्नेलाई हामी जेसुकै गर्न तयार छौं ।’ उनले आन्दोलनको माध्यमबाट यसअघि खोसिएका आफूहरुका हक÷हित सुनिश्चित गर्न खोजेको उनले सुनाए ।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय संयोजक शिवराम थापाले आफूहरु आन्दोलनमा उत्रिसकेको बताउँदै देशव्यापी रुपमा माग पूरा गराउन लागिपर्ने बताए । उनले भने,‘मुलुक जटिल अवस्थामा पुग्यो । यसकारण हामी आन्दोलनमा होमिएका छौँ । अहिलको व्यवस्था अर्थहिन छ, अब नयाँ व्यवस्थाको आगमन हुनपर्छ ।’ ०७२ सालको संविधानको खारेजीको मागसहित संवैधानिक राजसंस्था आउनुपर्नेमा उनको जोड थियो ।

त्यसैगरी कार्यक्रममा मोर्चाका राष्ट्रिय संयोजक शेखर रायमाझीले मुलुकमा हजारौँ वर्ष पहिलादेखि नै वैदिक सनातन धर्मको सिर्जना भएको सुनाए । अहिलेको अवस्थामा हाम्रो संस्कृति, मौलिकता, स्वतन्त्रतामा हनन भएको सुनाए । उनले भने,‘हाम्रो पहिचान, गौरव स्वतन्त्रतामाथि प्रहार भएको छ । यो मुलुक दरिद्रताको सुचीमा आएको छ । यो अहिलको व्यवस्थाले निम्त्याएको हो ।’ उनीहरुले देशको इतिहास सम्झेर आउने दिनकालागि आन्दोलन आवश्यक रहेको ठहर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्