Logo

ईपीएलको उत्घाटन खेलमा काठमाडौंको जित



काठमाडौं, ९ असोज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज भएको उत्घाटन खेलमा काठमाडौं किंग्स इलेवेनले साविक विजेता ललितपुर प्याट्रियओट्सलाई ७ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले टस जित्दै ललितपूरलाई ब्याटिङको निम्तो दिएको थियो ।

ललितपुरले काठमाडौंलाई २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनको लक्ष्य दिएको थियो । जसलाई काठमाडौंले १४.२ ओभरमै ३ विकेटको क्षतीमा भेटायो ।पहिलो बलमै कप्तान कुशल भुर्तेललाई गुमाएको ललितपुरले लगातर तीन विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो । तर, ललितपुरका पवन सर्राफ र योगेन्द्र कार्कीले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई खेलमा फर्काएका थिए ।

पवनले ४४ बलमा ६१ रन जोड्दै चौथो संस्करणको ईपीएलमा पहिलो हाफ सेन्चुरी पुरा गरे । साथै, योगेन्द्र कार्कीले २० बलमा ३३ रन जोडे ।काठमाडौँको तर्फबाट जितेन्द्र मुखियाले सर्वाधिक चार विकेट लिएका छन् । उनले चार ओवरमा १८ रन खर्चिएर चार विकेट लिन सफल भए । साथै, गुल्शन झाले चार ओवरमा ३५ रन खर्चिएका थिए भने २ विकेट लिन सफल भए । त्यसैगरि रायन ब्रुलले चार ओभरमा २० रन खर्चिएर दुई विकेट लिन सफल भए ।

ललितपुरले दिएको लक्ष्य पछ्याउने क्रममा काठमाडौंका उहमानउल्लाह गुर्बाज र सुवास खकुरेल ओपनिङ ब्याट्स म्यानको रुपामा मैदान छिरेका थिए । तर, खेलको पहिलो ओभरमै सुवास रन आउट हुन पुगे । साथै, दोस्रो ओभरमा दोस्रो विकेटको रुपमा काठमाडौंले अमित श्रेष्ठ गुमाउन पुग्यो । अमित पनि रन आउट हुन पुगे ।

२ ओभरमा २ विकेट गुमाउँदै खराब सुरुवात गरेको काठमाडौंलाई रायन ब्रुल र गुर्बाजको साझेदारीले समाल्यो । गुर्बाजले २४ बलमा ४ चौका र ४ छक्काको मद्दतमा लिगको दोस्रो हाफ सेन्चुरीका पुरा गरे । गुर्बाजले ३६ बलमा ५९ रन जोड्दै पबिलियन फर्किए । साथै, ब्रुलले ३४ बलमा नटआउट ७३ रन जोडे । त्यसैगरि राजु रिजाल १३ बलमा १९ रन जोड्दै अविजित रहे ।

ललितपुरको तर्फबाट पवन सर्राफले १ विकेट लिए । काठमाडौं किंग्स इलेवेनमा कप्तानी सन्दीप लामिछानेले गरेका छन् । साथै, ललितपुरको कप्तानी कुशल भुर्तेलले समालेका छन् ।



प्रतिक्रिया दिनुहोस्