Logo

प्रसूतिपछि पेटमै छुटाईयो टालोः छानविन हुँदै



काठमाडौं, असोज १० । शल्यक्रियाका माध्यमले प्रसूति गराउँदा पेटमा टेट्रा (गजको पत्रले बनेको टालो) छुटेकी महिलाका विषयमा परेको उजुरीविरुद्ध नेपाल मेडिकल काउन्सिलले कारबाही अघि बढाएको छ। गत वर्ष जेठ ७ गते सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा २९ वर्षीया डोमा घतानीको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो। उनको स्वास्थ्यमा जटिलता देखा पर्‍यो। उपचारका क्रममा चिकित्सकले पेटमा टालो छुटाएको पत्ता लागेको थियो।

अस्पतालका चिकित्सक डा दिलीपकुमार शाहसहितको टोलीले उनको शल्यक्रिया गरेको थियो। प्रसूति गराएको लामो समय बित्दा पनि डोमाको स्वास्थ्यमा सुधार नआएपछि उनका पति सुनिल घतानीले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए। छानबिनका क्रममा टेट्रा पेटमै छुटाएर घाउ सिलाइएको ठहर गरी कारबाही अघि बढाएको काउन्सिलका रजिस्ट्रार डा कृष्णाप्रसाद अधिकारीले बताए।

उनले भने, ‘प्रमाणहरू संकलन भइसकेपछि स्पष्टीकरण सोध्न कारबाही अघि बढेको छ,’ उनले भने। स्पष्टीकरण सोध्ने कारबाही सकिएपछि नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले कारबाहीबारे निर्णय लिने काउन्सिलका अध्यक्ष प्राध्यापक डा। भगवान् कोइरालाले बताए। ‘कुनै व्यक्तिलाई कारबाही गर्नुअघि सफाइको मौका दिने कानुनी व्यवस्था छ, त्यो प्रक्रिया पूरा गर्दैछौं,’ उनले भने।

घटनामा धेरै व्यक्तिको सहभागिता रहेकाले सोहीअनुसार कारबाही हुने डा कोइरालाको भनाइ छ। शल्यक्रियाका क्रममा भएको यस्तो लापरबाहीमा संलग्नलाई ऐनअनुसार केही अवधिका लागि निलम्बन गर्ने र सचेत गराउनेजस्ता कारबाही गर्ने व्यवस्था छ।

डोमाले पहिलो बच्चा शल्यक्रियाबाटै जन्माएकी थिइन्। त्यसकारण चिकित्सकले दोस्रो पनि बच्चा पनि शल्यक्रियाबाटै प्रसूति गराउने सल्लाह दिएका थिए। डोमाका पति सुनिल वैदेशिक रोजगारीमा थिए। लकडाउनको अवधिमा भएकाले जिल्ला अस्पतालमै शल्यक्रिया गराउनु डोमाको बाध्यता थियो। ‘नयाँ डाक्टर आएको सुनेर डर लागिरहेको थियो। अन्त जान साइकलसम्म चल्दैनथ्यो। जिल्ला अस्पतालमै गराएँ,’ डोमाले भनिन्। पीडित डोमाका अनुसार अस्पतालमा शल्यक्रिया गरेपछि दिनदिनै गाह्रो हुँदै गयो।

अस्पतालले सात दिनपछि डिस्चार्ज दियो। घरमा पुगेर बच्चाको न्वारान गर्ने दिनसम्म उनलाई झनै कठिन भइरहेको थियो। पेट असामान्य ठूलो हुँदै गएपछि ओखलढुंगाको मिसन अस्पतालमा पुगिन्। त्यहाँका चिकित्सकले सुईबाट पेटमा जमेको पिप निकाले। थप उपचारका लागि उनी चार महिनापछि काठमाडौं आइन्। काठमाडौंको बौद्धस्थित स्तुपा अस्पतालमा सिटी स्क्यानबाट पेटमा टालो छुटेको पत्ता लाथ्यो। अहिले डोमा काठमाडौंमै डेरा गरेर बस्छिन्। उनको स्वास्थ्य अवस्था अझै राम्रो भइसकेको छैन। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्