Logo

“एमालेमा ओलीको विकल्प छैन, १० बुँदे सहमति सुझाव मात्र हो”



काठमाडौं, असोज १० । नेकपा (एमाले) का नेता कर्णबहादुर थापाले पार्टी अध्यक्षमा फेरि पनि केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । पार्टीभित्र ओलीको नेतृत्वलाई चुनौती दिने पनि कोही नदेखिएको उनको दाबी छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले सुदूरपश्चिम अध्यक्षसमेत रहेका नेता थापाले भने, “पार्टी एकताका कारण हाम्रो महाधिवेशन निकै पछाडि धकेलियो । संवैधानिक व्यवस्था अनुसार मंसिरमा गर्नैपर्छ । सैद्धान्तिक र राजनीतिक हिसाबले अध्यक्ष छान्ने महाधिवेशनले हो । अब एमाले केपी शर्मा ओली अध्यक्ष हुने कुरामा विवाद छैन, विकल्प पनि छैन ।”

एमालेको नयाँ विधानमा अध्यक्ष, महासचिवबाहेक सात उपाध्यक्ष, तीन उपमहासचिव, सात सचिव रहने गरी छलफल भइरहेको उनले बताए । वडादेखिको सुझाव लिएर लोकतान्त्रिक ढंगले निष्कर्षमा पुग्ने उनको भनाइ छ । आफ्नो औचित्य सावित गर्न नसक्दा पनि पद ओगटेर बस्ने प्रवृत्तिका कारण कार्यकारी पदमा रहने व्यक्ति ७० वर्ष ननाघेका हुनुपर्ने उमेर हदमा विवाद नभएको पनि उनले बताए ।

नेता थापाले १० बुँदे सहमति कुनै विचार, दर्शन र सिद्धान्तभन्दा पनि सुझाव मात्र भएकाले यसै कारण कसैले पार्टी छाड्नु नपर्ने दाबी गरे । उनले थपे, “सदूरपश्चिम प्रदेशका डोटी र डडेलधुराबाहेकका जिल्लामा सात जिल्लामा केही समस्या छैन । सहजीकरणको जिम्मा तोकिएका भीम रावल, लेखराज भट्ट र मबीच पाँच पटक बैठक भइसकेको छ । यस्तो बेला १० बुँदे सहमति कार्यान्वयन नभए हामी यो गर्छौं, त्यो गर्छौं भन्नु बेकार हो । त्यसले पार्टीको हित गर्दैन । १० बुँदे सहमति विचार, दर्शन, सिद्धान्त होइन, सामान्य सुझाव मात्र हो ।”

उनले एमालेमा बहस भए पनि विवाद नभएको बताए । उनले भने, “पार्टीमा सबैले जिम्मेवारी पाउँछन् तर रोजेको जिम्मेवारी पाउँदैनन् । त्यसैकारण कसैले पार्टी छाड्नु पर्दैन । पार्टी विभाजन हुने कुरा पनि छैन । पार्टीको हितमा के हुन्छ भन्ने नेतृत्वले जान्दछ । नेकपा कालमा भीम रावल इन्चार्ज हुुनुहुन्थ्यो, अहिले इन्चार्ज लेखराज भट्ट हो । अनावश्यक विवादले भीम रावलको कद होचो बनाउँछ ।”

४०, ५० वर्ष पार्टीमा लागेका मानिस अर्को पार्टीमा लाग्छ भन्नु पनि हल्का टिप्पणी हुने उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्