Logo

कांग्रेसको चौधौैं महाधिवेशन सर्न सक्छः निर्वाचन समिति सदस्य



काठमाडौं, असोज १० । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य एकराज पोखरेलले पार्टीको चौधौैं महाधिवेशन सर्न सक्ने बताएका छन् । पार्टीको प्रदेशस्तरीय सम्मेलनको मिति पछाडि धकेलिने देखिएकाले त्यसको प्रभाव महाधिवेशनमा पनि पर्ने उनको ठम्याइ छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता समेत रहेका पोखरेलले भने, “दसैं अगाडिसम्म ७७ वटै जिल्लाको वडा र पालिका स्तरीय अधिवेशन अनि २१ हिमाली जिल्लाको अधिवेशन सकिन्छ । दसैं र तिहारको बीचमा ५६ जिल्लाको जिल्ला अधिवेशन हुन्छ । तर क्रियाशील सदस्यता विवादका कारण कात्तिक १०, ११ र १२ को प्रदेश स्तरीय सम्मेलन केही पछाडि धकेलिने स्थिति छ । त्यस हिसाबले केन्द्रको महाधिवेशन अलिकति पछाडि सर्ने देखेको छु ।”

पोखरेलका अनुसार हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने ५४ जिल्लामा पालिका स्तरीय अधिवेशन भएका छन् । बाँकी रहेका १० जिल्लामा असोज १३ गतेसम्म पालिका अधिवेशन हुँदै छ । डोल्पामा प्रतिनिधि पठाइसकिएको छ । पदाधिकारी र पूर्व पदाधिकारीको सहमतिमा बाँकी १३ जिल्लामध्ये पाँच वटा जिल्लाको क्रियाशील सदस्यता सूची प्रकाशित भइसकेको छ र रौतहटसहित आठ वटा जिल्लाको आजसम्म प्रकाशित हुन्छ ।

तथ्यगत हिसाब र यथार्थ आँकडा हेर्दा कांग्रेस महाधिवेशन हुनेमा ढुक्क हुन पोखरेलले सबैसँग आग्रह गरे । उनले भने, “अधिवेशनका लागि चाहिने भनेको मतदाता नामावली हो । त्यो आज प्राप्त हुन्छ । ७७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भइसक्यो । अब निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ ।”

पार्टी केन्द्रीय कार्यालयमा वडा अधिवेशन एकपक्षीय भयो, धाँधली भयो भनेर धर्ना बसेको तपाईंलाई थाहा छैन भन्ने पत्रकार धमलाको प्रश्नमा पोखरेलले भने, “निर्वाचन समितिको मूल जिम्मेवारी भनेको निष्पक्ष निर्वाचन हो । हामीले विधि, विधान, प्रक्रिया आदिको कुरा गर्छौं । त्यसकारण कहिले सभापतिलाई फेवर गरे जस्तो, कहिले संस्थापन इतर पक्षलाई गरेको जस्तो लाग्न सक्छ । कसैलाई काखा, कसैलाई पाखा हुने गरी हामी काम गर्दैनौं । तर हामीले गुटगत ढंगले कुनै पनि निर्णय गरेका छैनौं, सबै निर्णय एकमत भएर गरेका छौं । राजनीतिक सहमति या असहमतिका विषयमा हामीले प्रवेश गर्न मिल्दैन ।”



प्रतिक्रिया दिनुहोस्