Logo

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व



काभ्रेपलाञ्चोक, १० असोज: नेपाली कांग्रेसको नगर-गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सुरुआत पालिका अधिवेशन अन्तर्गत बनेपा नगरमा महेशकुमार कर्माचार्य सभापतिमा निर्वाचित भएका छन् । उनले आफ्नो प्रतिद्वन्दीलाई एक मतले पराजित गरेका हुन् । शनिबारै निर्वाचन सम्पन्न धुलिखेलमा विदुर बस्नेत नगर सभापतिमा अत्यधिक मतले विजयी भएका छन् । पाँचखाल नगर सभापतिमा सञ्जय तामाङ र पनौती नगर सभापतिमा रामशरण भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

मण्डन देउपुर नगर सभापतिमा कश्यप पौडेल र नमोबुद्धमा कुन्साङ लामा सभापतिमा निर्वाचित हुनुभएको छ । यस्तै तेमालमा ज्ञानबहादुर लामा, रोशीमा दुधराज लामा,भुम्लुमा दावा लामा र चौँरीदेउराली गाउँपालिका सभापतिमा शेरबहादुर लामा निर्वाचित भएका छन् ।

यसैगरी बेथानचोकमा प्रेमबहादुर तिमल्सिना र खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्मा सभापतिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । गाउँ-नगर अधिवेशनमा सभापति पदमा भने दोब्बर बढीको उम्मेदवारी परेको थियो । स्थगन भएको महाभारतको निर्वाचन आजै गर्ने विषयमा छलफल भइरहेको जिल्ला सचिव दिनेश लामाले जानकारी दिए ।

सात तहको निर्विरोध र पाँच तहमा मतदान भएको हो । निर्वाचनले कांगे्रसको गाउँ-नगर पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिवलगायत कार्यसमिति चयन गरेको हो । निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुने प्रावधान छ भने वडागत सदस्य सङ्ख्याका अनुपातमा कार्यसमिति सदस्य चयन भएको उनले बताए । जिल्ला समितिमा १९ हजार १० क्रियाशील सदस्य छन् । समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।

चार पालिकामा सर्वसम्मत नेतृत्व

झापा– झापाका चार पालिकामा सभापति पदमा निर्विरोध चयन भएका छन् । शनिवार भएको पालिकास्तरीय अधिवेशनबाट कचनकवल, बुद्धशान्ति र हल्दिबारी, झापा गाउँपालिकामा निर्विरोध समिति चयन भएकोे हो ।

पन्ध्र पालिका रहेको जिल्लामा कचनकवलमा तुलाराम अधिकारी सभापति, टेकनाथ पौडेल र रोमसम राजवंशी सचिव, सागर राजवंशी र रुद्र उप्रेती सहसचिवमा निर्विरोध चयन भएका छन् । उपसभापतिमा भने तीन जनाको उम्मेदवारी परेकाले सहमतिको पहल भइरहेको पार्टीका जिल्ला अध्यक्ष उद्धव थापाले बताए ।

यसैगरी हल्दिबारीमा गङ्गा प्रसाईं, झापामा सागीरथ गणेश बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्माको नेतृत्वमा निर्विरोध कार्यसमिति निर्वाचित भएको छ । अर्जुनधारा नगरपालिकामा सभापति पदमा मात्रै निर्वाचन हुने भएको छ भने अन्य पदमा निर्विरोध नेतृत्व चयन भइसकेको उनले बताए । बाँकी पालिकामा भने आज निर्वाचन हुने कार्यक्रम छ ।

नौ वटाको नतिजा आयो, दुई बाँकी

वालिङ– स्याङ्जाका नौ पालिकामा निर्वाचन सम्पन्न भएको छ । एघार पालिका रहेको जिल्लामा सहमति र निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुङ्गिएको हो भने दुई वटामा बाँकी छ ।

स्याङ्जाका भीरकोट, पुतलीबजार, चापाकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा, हरिनास गाउँपालिकामा निर्वाचन सकिएको हो । सहमतिका लागि वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नतिजा आउन सकिरहेको छैन । यी दुई पालिकामा आज निर्वाचन गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

जिल्लाको भिरकोटमा यामप्रसाद अधिकारी, गल्याङमा श्यामप्रसाद बस्याल, पुतलीबजारमा सुरजकुमार अधिकारी र चापाकोट नगरपालिकामा बिक्रम सारु नगर सभापतिमा निर्वाचित भएका छन् ।

बिरुवामा डोलराज पोख्रेल, हरिनासमा टोपबहादुर भुजेल, अर्जुनचौपारीमा विष्णु काफ्ले, फेदीखोलामा महेन्द्र थापा, आँधीखोला गाउँपालिकामा नरेन्द्र पौडेल सभापतिमा निर्वाचित भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिकामा सहमति जुटाउनका लागि गरिएको प्रयास सफल नभएपछि आज बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । सभापति पदमा नेत्रप्रसाद पाण्डे र भूपराज बगाले चुनावी मैदानमा छन् । कालीगण्डकी गाउँपालिकामा पनि सहमतिको प्रयास सफल नभएपछि आज निर्वाचन हुने भएको छ ।

तनहुँका आठ पालिकामा नेतृत्व चयन

दमौली– जिल्लाको आठ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनअन्तर्गत जिल्लाका तीन नगरपालिका र पाँच गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो । दुई पालिकामा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा भने अधिवेशन स्थगन भएको छ ।

व्यास, भानु, शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी, बन्दीपुर ा, देवघाट, घिरिङ र म्याग्दे गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो भने त्यसमध्ये शुक्लागण्डकी नगरपालिका, देवघाट र घिरिङ गाउँपालिकाको सभापति भने सर्वसम्मत चयन भएका हुन् ।

व्यासमा सूर्यचन्द्र हड्खले, भानु नगरापलिकामा रामकुमार श्रेष्ठ तथा बन्दीपुरमा कर्ण खत्री, म्याग्देमा रामभक्त घिमिरे र आँबुखैरेनी गाउँपालिकाको सभापतिमा विष्णु पन्थ निर्वाचित भएका छन् । यसैगरी देवघाटमा तिलबहादुर थापा, घिरिङ गाउँपालिकामा यामबहादुर थापा शुक्लागण्डकी नगरपालिकाको सभापतिमा गोपीबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्