Logo

हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्स स्कुललाई



काठमाडौँ, १० असोज: अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्स स्कुल ललितपुरले हात पारेको छ । लियो क्लब अफ काठमाडौँ समर्पणद्वारा हिजो (शनिबार) आयोजित सो प्रतियोगितामा ११ विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा केन्द्रीय विद्यालय द्वितीय, राजश्री गुरुकुल तृतीय र राई स्कुलले सान्त्वना पुरस्कार हात पारेका हुन् ।

प्रथम भएसँगै युलियन्सले रु २८ हजार र केन्द्रीय विद्यालयले रु १५ हजार बराबरको उपहार र प्रमाणपत्र पाएको छ । प्रतियोगिताका तृतीय र चौथो टोलीलाई प्रमाणपत्र र ‘टोकन अफ लभ’ प्रदान गरिएको छ ।
प्रतियोगितामा कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको क्लबका अध्यक्ष प्रियान्सु जलानले जानकारी दिए । प्राडा महेन्द्रप्रसाद सिंह, लायन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष लभेन्द्र मल्ल र लायन्स क्लबका मल्टिपल काउन्सिल चियरपर्सन मानबहादुर रोकाले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

सन् २०२१ को सेप्टेम्बरमा स्थापना भएको लियो क्लब अफ काठमाडौँ समर्पणले कोभिड–१९ को समयमा ३०० भन्दा धेरै व्यक्तिलाई निःशुल्क खाना खुवाउनुका साथै रक्तदान र लत्ताकपडा सहयोगलगायतका काम गरेको क्लबका पूर्वअध्यक्ष सिद्धान्त अग्रवालले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्