Logo

चीनबाट नेपालमाथि ‘नाकाबन्दीको जस्तै व्यवहार’, चिनियाँ सामान महँगियो



काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प छ ।

दशैंका लागि आउने सामानका कन्टेनरहरु केरुङ र तातोपानी नाकाबाट सिमित मात्र आइरहेका छन् । चीनले दैनिक १० वटा मात्र कन्टेनर नेपाल जान दिएको छ । कोरोना भाइरसको महामारीलाई कारण देखाएर औसत १० कन्टेनर मात्र तातोपानीबाट भित्रन दिएको छ । केरुङबाट पनि सोही अनुपातमा भित्रिइरहेको छ । एउटै नाकाबाट दैनिक झण्डै एक सयको हाराहारीमा कन्टेनर चीनबाट नेपाल आउने गर्थे ।

चिनियाँ पक्षले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै कन्टेनरमा अवरोध सृजना गरिरहेको छ । नेपाली पक्षले निकै पहल गरेपछि एउटा नाकाबाट संख्या बढाउन सहमत भएपनि पर्याप्त छैन ।

चीनले नेपालसँगको सीमा नाकामा अवरोध गर्दै आएको छ । यसलाई व्यवसायीले नाकाबन्दीको जस्तै अवस्था भनेका छन् ।

दशैंका सामान चीनबाट ल्याउन व्यवसायी लागेपनि यसपटक पर्याप्त आउन नसक्ने देखिएको छ । यसबाट दशैंका लत्ताकपडालगायतका सामान महङ्गो हुनसक्ने सम्भावना छ । बजारमा सामानको अभाव रहेको भन्दै व्यापारीले मूल्य वृद्धि गरिसकेका छन् ।

लत्ता कपडा र जुत्ताका व्यापारीहरु विगत वर्षको तुलनामा आफूहरुले दोब्बर मूल्यमा सामान खरिद गर्नुपरेको बताएका छन् । मूल्य दोब्बर भएर आएपछि सामानको मूल्य पनि बढ्ने उनीहरुको भनाई छ ।

यसैगरी, नेपालबाट चीनमा आयात अझै ठप्प पारिएको छ । चीनले कोरोना भाइरसको जोखिम भन्दै निर्यात गर्न दिएको छैन । यसबाट निर्यातकर्ता व्यापारी मर्कामा परेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्