Logo

नमूना ढुवानीग्रामः सार्वजनिक–निजी साझेदारीको नमूना



लुम्बिनी, १० असोज :  बुटवलमा निर्माण गरिएको नमूना ढुवानी ग्राम सञ्चालनको तयारीमा छ । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा निर्माण गरिएको ढुवानीग्राम उपमहानगरले निजी क्षेत्रसँगको सहकार्यमा मुलुककै नमूना आयोजनाका रुपमा सञ्चालन गर्न लागेको हो ।

व्यस्त सहरी क्षेत्रमा उच्च भारवाहनका सवारीसाधनलाई प्रवेशमा रोक लगाउन र ट्राफिक व्यवस्थापन गर्न अलग्गै यो ग्राम बनाइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । यो योजना रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा उपमहानगरले बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको हो । मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले ढुवानी ग्राम निर्माण गरिएको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

वडा नं १२ ढवाहस्थित भैरहवा टोलको तीन बिघा जमिनमा करिब रु ३७ करोड लागतमा ढुवानीग्राम निर्माण गरिएको हो । ढुवानी ग्राममा रहने गार्डरुम, शौचालय, प्राथमिक उपचार कक्ष, सुरक्षा पोष्ट निर्माणका काम अन्तिम चरणमा पुगेको र सो स्थललाई सुन्दर पनि बनाइने भएको छ ।

“सहरमा ट्राफिक चाप घटाउने, अव्यवस्थित रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउने, एकै ठाउँबाट मात्र उच्च भारवहन सवारीसाधन अनलोड गर्न लगाउनेगरी अलग्गै ढुवानीग्राम निर्माणको अवधारणा बनाएका हौँ”, उनले भने,“ढुवानीग्राममा सम्लग्न व्यवसायीको समेत साझेदारीमा सुरु गरिएको यो योजना सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।”

बहुवर्षीय योजनाका रूपमा अगाडि सारिएको यो योजना अहिले सम्पन्न हुनै लागेकाले उपमहानगरपालिकाकोे प्रस्तावमा निजी क्षेत्रले सहजै सहकार्यका लागि प्रतिबद्धता जनाएका र काम पनि तोकिएकै समयमै पूरा भएको उपमहानगर प्रमुख सुवेदीले जानकारी दिए । ढुवानी व्यवसायीका अगुवा तथा समितिका पूर्वअध्यक्ष माधव नेपालले बुटवलको पहिचानका रुपमा नमूना अटो भिलेजपछि अब नमूना ढुवानी ग्राम बन्ने बताए । उनले लगानीको सुरक्षा र प्रतिफल सुनिश्चित हुने देखिएकाले आफूहरुले यसमा सहकार्य गरेको उल्लेख गरे ।

के–के छ ढुवानीग्राममा ?

ढुवानी ग्राम राजमार्गबाट तीन दशमलव छ किलोमिटर दूरीमा छ । उपमहानगरले त्यहाँ पुग्न पहुँचमार्ग, ढल तथा नाली निर्माण गरिसकेको छ । यसमा साना ग्यारेजदेखि प्राथमिक उपचारकक्षसम्मका सुविधा राखिने भएको छ ।

बिओटी (बिल्ड, अपरेट, ट्रान्सफर) मोडलमा निर्माण भइरहेको ढुवानी ग्राममा ४९ वटा सेड निर्माण गरिएको छ । करिब रु १३ करोडको लागतमा ढुवानी ग्राम निर्माणमका लागि रुपन्देही परिवहन प्रालिले एमबी कन्ट्रक्सनको बोलपत्र स्विकृत गरेको थियो । ढुवानी ग्राममा सामान अनलोड गर्ने अलग्गै सेड, स्टोर, कार्यालय कक्ष, विद्युत्, खानेपानी, स्नान घर, शौचालय, विश्रामकक्ष, ढल तथा नालीको व्यवस्थाका साथै प्राथमिक उपचार,सुरक्षागार्ड र सूचना कक्ष निर्माण भइरहेको सहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए ।

ढुवानीग्राम दिगो रुपमा सञ्चालनका लागि मापदण्ड बनाइनाका साथै रुपन्देही परिवहन प्रालिसँग १५ वर्षे सम्झौता गरिएको छ । सम्झौतानुसार उक्त प्रालिले १५ वर्षपछि उपमहानगरलाई ढुवानी ग्राम हस्तान्तरण गर्नेछ । निर्माण सम्पन्न भएपछि ढुवानीग्राममा व्यवसायीले एक हजार ५५० वर्ग फुट क्षेत्रफलमा निर्माण हुने प्रति सेडका लागि मासिक रु तीन हजार एकसय बहाल रकम बुझाउनु पर्ने हुन्छ । बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख गरिएको उपमहानगर वित्त व्यवस्थापन महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्