Logo

‘सुदूरपश्चिम प्रदेशको ईन्चार्ज लेखराज भट्ट हो, भीम रावल त नेकपा कालमा हुनुहुन्थ्यो’ : थापा (भिडिओ सहित)



नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले दश बुँदे सहमति कार्यान्वयन भैसकेको दाबी गरेका छन् । उनले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज लेखराज भट्टनै भएको पनि उल्लेख गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन । कुराकानीको क्रममा पत्रकार धमलाले अनि भीम रावल चाहीँ कुन पदमा हुनुहुन्छ नि ? भनेर सोधेको प्रश्नमा नेता थापाले भने–‘ भीम रावल नेकपाको कालमा हुनुहुन्थ्यो । नेकपापछि भएको कार्यविभाजनले लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ । अब अर्को कुनै निर्णय नहुँदासम्म उहाँनै हो भन्ने कुरा पार्टीले भनेको छ । पार्टीको निर्णय जे हो, त्यही हुन्छ ।’ प्रस्तुत छ नेता थापासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको अवस्थामा नेकपा (एमाले)मा विवाद चुलिएको छ, के कारणले यस्तो भयो ?

पार्टीमा अलि–अलि विवाद त भइरहन्छ । तर, अहिले एमालेमा खासै विवाद छैन् ।

भीम रावलले दश बुँदे सहमति कार्यान्वयन गर्ने की मैले एमाले छोडौं भन्नुभएको छ भन्ने कुरापनि आएको छ नि, त्यो भनेको विवाद होईन र ?

दश बुँदे कार्यान्वयन भइसकेको छ । यसको कारणले कसैलेपनि पार्टी छोड्नुपर्दैन् । दश बुँदे भनेको कुनै सिद्धान्त, विचार, दर्शन र दृष्टिकोण केही पनि होइन । यो एउटा सहमति हो । पार्टीको निम्ति सुझाब हो । त्यो सुझाब चाहीँ देशव्यापी रूपमा कार्यान्वयन भएको छ । पार्टीको हित के कुरामा हुन्छ भन्ने कुरा पार्टीको नेतृत्वले जान्दछ । हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौं । यसलाई सकारात्मक ढंगले लिने, सकारात्मक ढंगले बुझ्ने र रचनात्मक ढंगले पार्टीको हितमा कार्यान्वयन गर्ने भन्ने पार्टीको निर्णय हो । त्यो निर्णयबमोजिम अगाडि बढिसकेको छ । यसैका कारणले नै पार्टी विभाजन हुने, पार्टी छोड्ने भन्ने प्रकारको कुरा भनेको त्यो नमिल्ने कुरा हो । एउटा सामान्य प्राविधिक कुराले पार्टी विभाजन हुन्छ भन्नु गलत हो ।

सुदुरपश्चिमको विवाद कहिले समाधान हुन्छ ?

त्यो त भइसकेको छ ।

कसरी भयो ? त्यसो भए सुदुरपश्चिमको इन्चार्ज को हो त? भन्न सक्नुहुन्छ ?

अहिलेको अवस्थामा सुदुरपश्चिमको इन्चार्ज लेखराज भट्ट ।

कसरी ? भीम रावल होइन ?

भीम रावल नेकपाको कालमा हुनुहुन्थ्यो । नेकपापछि भएको कार्यविभाजनले लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ । अब अर्को कुनै निर्णय नहुँदासम्म उहाँनै हो भन्ने कुरा पार्टीले भनेको छ । पार्टीको निर्णय जे हो, त्यही हुन्छ । मान्छेको मतभिन्नता हुनसक्छ । बुझाईंमा फरक हुनसक्छ । त्यसो हुन्छ । मान्छेको मतलाई म सम्मान गर्छु । तर, निर्णय जे भएको छ, त्यसलाई मान्नुपर्छ । त्यसैले उहाँनै अहिलेको इन्चार्ज हो । साथै, कमरेड भीम रावल अहिले पार्टीको उपाध्यक्ष हुनुहुन्छ र एउटा सम्मानित जिम्मेवारीमा उहाँ हुनुहुन्छ । यसबारेमा अनावश्यक प्रचार र विवाद चाहीँ नगरिदिनुहोला ।

तर, तपाईंहरुले उहाँ (भीम रावल) लाई इन्चार्ज हुनबाट रोक्नुभयो भन्नुहुन्छ उहाँ ?

होइन, उहाँले त्यो कुरा भन्नुभएको छैन् । नभएको कुरा तपाईंले नभन्नु न ।

हिजो केन्द्रीय समितिका सदस्यहरुले भन्नुभएको होइन् ? भीम रावललाई सुदुरपश्चिमको इन्चार्ज बनाउन के कारणले केपी ओली तयार हुनुभएन ?

उहाँ इन्चार्ज हुनका निम्ति लडार्इं गर्नुपर्ने मान्छे होइन् । भीम रावल कमरेडलाई विवादित बनाउने काम चाहीँ नेपालका मिडियाहरुले गरिरहेका छन् । यसो नगरौं भन्छु म ।

त्यसोभए सुदुरपश्चिमको झगडाको विउ के हो ?

संगठन सञ्चालनका क्रममा अलिअलि बहस र विवादहरु हुन्छन् । जिम्मेवारी दिने सन्दर्भमा के कुरा चाहीँ सत्य हो भने अघिपछि मिलिरहेका मान्छेहरु पनि आफूले जिम्मेवारी प्राप्त गर्नुपर्छ भन्ने कुरामा अलिअलि विवादहरु जहिलेपनि हुने गरेका छन् । अहिले जसरी बाहिर प्रचार गरिएको छ, त्यस तहको विवाद हुनुपर्ने कुरा नै छैन् । यसरी विवाद भएको पनि छैन् । साथै, हामीले यसलाई सहज ढंगले अगाडि बढाएर जान्छौं । समाधान हुन्छ । ठुला–ठुला नीति र विचारका दृष्टिकोणका मामलामा हामीले समाधान गर्दै त्यसलाई अगाडि बढ्छौं ।

तर, जेठ २ मा एमाले फर्किएन, दश बुंदे कार्यान्वयन पनि भएन, किन यस्तो भयो ?

नेकपा (एमाले) भित्र जेठ २ मात्रै छैन् । नेकपा (एमाले) भित्र तीन अवधिका तीन वटा जिम्मेवारीप्राप्त मान्छेहरु हुनुहुन्छ । जेठ २ भन्दा अगाडिको स्थिति अर्थात् पार्टी एकता नहुँदाको स्थिति र पार्टी एकता भएर नेकपा बनेको स्थिति र अर्को भनेको पुष ५ र फागुन २३ भन्दा पछि पनि बिभिन्न जिम्मेवारीहरु परिवर्तन भएका छन् । सिंगो पांगो रुपमा नबुझेर एकांगी ढंगले एउटा अवधिलाई मात्र ध्यान दियो भने सिंगो नेकपा (एमाले) हुन सक्दैन् । त्यसैले सिंगो नेकपा (एमाले) बनाउनका निम्ति अहिलेको नेतृत्वले हामीले जिम्मेवारीका साथ सबै नेताहरुले जिम्मेवारी पाउनुहुन्छ । रोजेको कुरा पार्टीमा कहिले पनि हुँदैन् ।

तर, दश बुँदे कार्यान्वयन गर्छौं भनेर तपाईंहरुले केन्द्रीय समितिबाट अनुमोदन गर्नुभएको होईन र ?

त्यो त भएको छ त । कार्यान्वयन भएर त सबै कमरेडहरु जो नेकपाको कालमा अध्यक्ष र महासचिब मात्र हुने व्यवस्था सबैले गरेको हो । त्योभन्दा पछि त अहिले उपाध्याक्ष कमरेडहरु, उपमहासचिबहरु, सचिबहरु हुनुहुन्छ । अब जेठ २ मात्रै खोजेर जाँदा सबै मान्छेहरु नेकपा एमालेभित्र हुनुहुन्न नि त । भएकै नेताहरुपनि अब सबैले नेतृत्व प्राप्त गर्ने प्रकारको त्यो स्थिति÷मनस्थिति सय सबै कुराहरु पार्टीले हेर्नुपर्छ नि । यसरी सबै हेरेपछि सबैले जिम्मेवारीप्राप्त गर्नुहुन्छ ।

स्थानीय तह र जिल्लामा दश बुँदे कार्यान्वयनमा समस्या छ नि होईन ?

स्थानीय तहमा झनै सुदुरपश्चिमको हकमा ९ वटै जिल्लामा खासै समस्या छैन् । एक÷दुई वटा जिल्लामा कसले जिम्मा लिने ? कसले नलिने भन्ने छ । तपाईलाई प्रष्ट पार्छु–डोटी र डडेलधुरमा चाहीँ के गर्ने भन्ने विषयमा छलफल गर्न बाँकी छ । अरुमा त कुनै समस्या नै छैन् ।

सुदुरपश्चिममा भीम रावल, लेखराज भट्ट र तपाईं तीन जनाले बैठक बसाउन सक्नुभएको छैन् भन्ने आरोप छ, यस विषयमा के भन्नुहन्छ ?

नभएको कुरा कसैले भन्नुभएको हो भने यसमा टिप्पणी गर्नुपर्ने छैन् । यथार्थ कुरा के हो भने । हामी तिन जना सहजिकरणको लागि पाँच पटक बसेका छौं । छलफल पनि गरेका छौं । कुनैकुनै ठाँउमा कुरा नमिलेको मात्रै हो । त्यसपछि जिल्लाका सबै हाम्रा कामहरु अगाडी बढेका छन् । वडा तहसम्म पार्टीका नेताहरु घरदैलो अभियानमा पनि हिँड्नुभएको छ । हाम्रो काम रोकिएको छैन् । त्यसैले ठाउँ विशेषका कुरालाई एकमुष्ट रूपमा सामान्यीकरण गरेर दश बुँदे कार्यान्वयन भएन भनेर केही व्यक्तिहरुले भनिरहनुभएको छ भने त्यो पार्टीको हितमा छैन् ।

भीम रावललगायतका तेस्रो धारका नेताहरुले एमाले छोडेर एकीकृत समाजवादीमा जाने सम्भावना कति छ ?

त्यस्तो केही पनि छैन । यो कुरा सोच्न पनि सकिँदैन । अब यति सामान्य ढंगले पनि नहेरौं न, यति ठुलो पार्टीका नेताहरु मान्छेका कुनै बेलामा त्रुटीहरु भए होलान । नेपालको कम्युनिष्ट आन्दोलनमा ४०–५० वर्ष पारे गरेका मान्छेहरुले एउटा सानो विषयवस्तुमा यहाँ राम्रो भएन अझै राम्रो हुन्थ्यो भन्ने कसैको सोचाई होला । तर, यही कारणले गर्दा पार्टी छोडेर अर्को पार्टीमा जाने भनेर यति हल्का रुपमा टिप्पणी गर्नु अन्याय हुन्छ ।

आगामी दिनमा नेकपा (एमाले) मा उपाध्यक्ष कति जना राख्ने ?

यसमा हाम्रो अहिले प्रस्ताव चाहीँ पाँच जनाको छ । त्यसलाई सात बनाउनुपर्छ भन्ने कुरा पनि छ । सात हुनसक्ने सम्भावना बढि रहेको छ । त्यसैगरी सात जना सचिब, उपमहासचिब दुई वा तीन हुने सम्भावना छ ।

त्यसोभए उपाध्यक्षको विवाद मिल्छ ?

यो त विवादको कुरा नै छैन । नेकपा (एमाले) हिजैदेखि संगठन सञ्चानलका निम्ति सबैभन्दा लोकतान्त्रिक विधि अपनाउने पार्टी हो । हामीले व्यापक रुपमा पार्टीमा छलफल गर्छौं । छलफलबाटै सबै कुरा टुङ्ग्याउँछौं ।

उमेरहदको विषयमा पनि एमालेमा विवाद भएको हो ?

छैन, उमेरहदको विषयमा त केही विवाद नै भएको छैन् । अब उमेरको हद भनेको प्रमुख कार्यकारी पदमा रहने व्यक्ति ७० वर्षको हद राख्नुपर्छ भन्ने कुरा रहेको छ । यसबारेमा कसैको पनि धेरै ठूलो विवाद छैन् । हामीले नीति चाहीँ के बनाउनुपर्छ भने पार्टीमा लाग्ने नेताको क्षमता, योग्यता, उर्जा, अनुभव अधिकतम रुपमा उपयोग गर्नुपर्छ ।

त्यसो भए विधान अधिवेशनपछि केन्द्रीय महाधिवेशन हुन्छ ?

केन्द्रीय महाधिवेशन त किन नहुनु ? समयमै हुन्छ नि । मंसिरमा गर्नैपर्छ । हाम्रो संवैधानिक व्यवस्थाले, हाम्रो विधानको व्यवस्थाले पाँच वर्षभित्र गरिसक्ने व्यवस्था रहेका थियो । पार्टी एकताको कारणले त्यसो गर्न सकिएन । तर अब हुन्छ । नेपालको एउटा प्रमुख पार्टीको रुपमा रहेको नेकपा (एमाले) जस्तो पार्टीले समयमा महाधिवेशन गर्नैपर्छ ।



प्रतिक्रिया दिनुहोस्