Logo

नापी कार्यालयको बेथितिः कर्मचारीको लापरवाही, सेवाग्राही मर्कामा



जलेश्वर, १० असोज: जग्गाको कित्ताकाटका लागि विनित चौधरीले विगत २१ दिनदेखि महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयमा धाउँदै आएका छन् । जलेश्वर नगरपालिका–५ का चौधरीले कार्यालयका कर्मचारीले पटक पटक समय दिएर टार्ने गरेकाले शुक्रबार पनि जग्गाको कित्ताकाट नै नगराई उनी रित्तै फर्कनु भएका हुन् । “सबै कागजात ठिक्क थियो । फाँटवालाले सिफारिस जग्गा किताकाट नगरिदिँदा रित्तै फर्किनुप¥यो”, उनले भने, “हामीजस्ता सर्वसाधारणलाई जताबाट पनि मर्का नै छन् ।” आफूलाई त्यहाँका कर्मचारीले पटक–पटक समय दिएर टार्ने गरेको र आजसम्म पनि आफ्नो काम नगरिदिएको उनको गुनासो छ ।

त्यस्तै कित्ताकाटकै लागि कार्यालयमा २५ दिनसम्म धाउँदै आउनुएका जलेश्वर नगरपालिका–२ का अनिलकुमार साहले पनि त्यस कार्यालयका कर्मचारीले विभिन्न बहाना बनाउँदै काम नगरिदिएको गुनासो गरे । जिल्लाकै सोनमा गाउँपालिकाको खैरबन्नीबाट विगत एक महिनादेखि कार्यालय धाउँदै आएका एक ६२ वर्षीय वृद्धको पनि जग्गा लालपूर्जा सम्बन्धी काम हुन सकेको छैन् । करिब ४५ किलोमिटर टाढाबाट जग्गा लालपूर्जा सम्बन्धी काम लिएर सदरमुकाम जलेश्वर आएका ती वृद्धले विगत एक महिनादेखि काम लिएर कार्यालय धाउँदा पनि कर्मचारी काम नगरिदिएको बताए ।

यी त केही उदाहरण मात्र हुन् । नापी कार्यालयमा काम लिएर आउने अधिकांश सर्वसाधारणको समयमा काम हुन नसकेको गुनासो बढ्दै गएको छ । त्यहाँका कर्मचारीले विभिन्न वहानामा समयमै काम नगरिदिएर दुःख दिने गरेको का लागि आउने जो कोहीलाई पनि त्यहाँका कर्मचारीले दुःख दिने गरेको आरोप सेवाग्राहीको छ ।

कोरोनाको नाउँमा कार्यालयको सबै ढोका बन्द गरेर झ्यालबाट मात्रै काम गर्ने गरेको छ । त्यहाँका कर्मचारी मनपरी ढङ्गले आफूले चाहेको व्यक्तिको मात्रै काम गर्ने र नचाहेको व्यक्तिलाई सधैँ आजभोलि भन्दै फर्काउने गरेको उनीहरुको आरोप छ । लेखनदासमार्फत काम गराउन आउने सेवाग्राहीको काम छिट्टो गरिदिने र आफै काम गराउन आउने सर्वसाधारणलाई विभिन्न बहाना बनाएर फर्काउने गरेको आरोप सेवाग्राहीको छ ।

कार्यालयभित्र देखिएको कमिसन र आर्थिक चलखेलका कारण मर्कामा पर्ने गरेको गुनासो सेवाग्राहीको छ । कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेको हुन सक्ने कार्यालयका सूचना अधिकारी ज्ञानकुमार यादवले बताए । दरबन्दी अनुसारको कर्मचारी नहुँदा सिंहदरबारको अधिकार जनताको घरमा भन्ने भनाइप्रति सेवाग्राहीको विश्वास कम हुँदै गएको आरोप छ ।-रासस



प्रतिक्रिया दिनुहोस्