Logo

एमालेले के के निर्णय लियो



काठमाडौं, १० असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदन पारित गरेको छ । आइतबार सम्पन्न बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको हो ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उपमहासचिव घनश्याभ भुसालले तीन बुँदे फरक मत राखेका छन् । उनले जबजबारे प्रतिवेदन अस्पष्ट भएको, संसद विघटनबारे प्रष्ट दृष्टिकोण नभएको र समाजवादबारे अलमल देखिएको भन्दै मौखिक फरक मत प्रस्तुत गरेका हुन् । ओलीले त्यसको जवाफ समेत दिएका थिए ।

बैठकबारे जानकारी दिदै प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रतिनिधि चयनको मापदण्ड तोकेको बताए । उनले मापदण्डका आधारमा प्रतिनिधि ५ हजार पुग्ने बताए । यसअघि भट्टराईले प्रतिनिधि ३ हजार पुग्ने बताएका थिए ।

एमाले बैठकमा आज अध्यक्ष ओलीले सदस्यहरुको प्रश्नको जवाफ दिएका थिए । उनले प्रतिनिधि सभा विघटनको बचाऊ गरे ।

बैठकमा १० बुँदे सहमतिको कार्यान्वयनबारे छलफल भएपनि कुनै निर्णय भएन । त्यसबारे स्थायी कमिटी बैठकमा छलफल हुने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्