Logo

मणिपाल मेडिकल कलेज किनबेच प्रकरण : संसदीय समितिद्वारा अध्ययन सुरु



असोज १०, काठमाण्डौ । पोखरास्थित मणिपाल मेडिकल कलेज किनबेच प्रकरण संसदीय समितिमा पुगेको छ । सरकारलाई थाहै नदिई भदौं दोस्रो साता मेडिकल कलेज बिक्रि भएको थियो । यस विषयमा संसदीय समितिले छानविन प्रक्रिया अघि बढाएको छ ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले मणिपाल मेडिकल कलेज र सरकारबीच भएको सम्झौता मगाउने निर्णय गरेको हो । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सरकार र मेडिकल गुप्रबीच भएको सम्झौता समितिलाई उपलब्ध गराउन सरकारलाइ निर्देशन दिएको हो । समितिले सम्झौता अध्ययन गरेर सरकारलाई आवश्यक निर्देशन दिने छ ।

बैठकमा सांसदहरुले मेडिकल कलेज किनबेच भएको बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए । सांसदहरुले मणिपाललाई शेयर बेच्ने अधिकार नरहेको दावी गरेका छन् । कतिपय सांसदले मणिपाल समूहले चलाउन नसक्ने भए मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

बैठकमा शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले मेडिकल कलेज बिक्रि भएकोबारे आफुहरूलाई कुनै जानकारी नभएको बताए । उनले ४९ बर्षका लागि भएको सम्झौतामा बिदेशी लगानीमा सञ्चालित मेडिकल कलेज भएको उल्लेख गरिएको र अहिले पनि कायम रहेको जिकिर गरे ।

गत भदौं दोस्रो साता मेडिकल कलेज बिक्रि भएको सार्वजनिक भएको थियो । पोखराकै बापो (बतास–पौडेल) होल्डिङ्सले ३ अर्बमा उक्त कलेज किनेको जनाएको छ । निर्माण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा बनेको मेडिकल कलेजले सरकार पक्षलाई थाहै नदिइ सेयर खरिद सम्झौता गरेको थियो ।

होल्डिङ्समा आनन्दराज बतास अध्यक्ष रहेको बतास अर्गनाइजेसनको ६० प्रतिशत र नारायण पौडेल अध्यक्ष रहेको अटोवेज ग्रुपको ४० प्रतिशत लगानी छ । मणिपाल गुप्र र शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालयबीच १९९२ मा नेपालमा मेडिकल कलेज संचालन गर्ने सम्झौता भएको थियो । बुट मोडेलअन्तर्गत निर्माण भएकाले सन् २०४४ भित्र यो अस्पताल सरकारलाई हस्तान्तरण गर्नुपर्छ । तर, सम्झौता सकिनु २३ वर्षअगावै मणिपाल ग्रुपले सरकार पक्षलाई थाहै नदिई बिक्री गरेको हो ।



प्रतिक्रिया दिनुहोस्