Logo

”चीनसँगको सीमा विवाद अध्ययन समिति १२ नम्बर सीमास्तम्भमा किन पुगेन ?”



काठमाडौं, असोज ११ । चीनसँगको सीमा विवाद अध्ययनका लागि गठित सरकारी समिति हुम्लाको १२ नम्बर सीमास्तम्भसम्म नपुगेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले बताएका छन् । सीमा विवाद अध्ययन समितिले गृहमन्त्री बालकृष्ण खाँडलाई जे प्रतिवेदन बुझाए पनि सीमा मिचिएकामा कुनै विवाद नभएको उनको दाबी छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष तामाङले भने, “सरकारले बनाएको कार्यदल ११ नम्बर पिल्लरसम्म मात्र पुग्यो । मुख्य विवाद भएको १२ नम्बर पिल्लरमा चाहिँ पुगेन । त्यसैले त्यो अध्ययन प्रतिवेदन अधुरो हुन सक्ने मेरो आशंका छ । त्यो ठाउँमा जान अप्ठ्यारो भए पनि हिल्साबाट बिहान हिँडेर बेलुका फिर्ता हुने अवस्था थियो ।”

उपाध्यक्ष तामाङले चीनले एकपक्षीय रुपमा १२, ४ र ५ नम्बर सीमा स्तम्भ नयाँ बनाएको पनि बताए । उनले थपे, “चीनले १२ नम्बर पिल्लर नयाँ बनाएको अवस्था छ । नेपाली भूभागमा चीनको झन्डा गाडिएको छ । नाम्खाको वडा नं ६ लिमी, लोलुङजङकों बाटो नेपालले नै बनाएको हो । त्यो ठाउँमा अहिले चीनले भवनहरु बनाएको छ । स्थानीयले याकचौरी चराउने, गोठ राख्ने ठाउँ थियो भन्छन् बुढापाका । पहिले खुला सीमा थियो । लाप्चाको पिक खोलामा रहेको ६ नम्बर पिल्लर पनि तारबार गरेर चीनतिर पारिएको छ ।”

उनले दुई देशको सीमाविद् रहेको संयुक्त संयन्त्र बनाएर दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । उनले भने, “केही ठाउँमा सीमा मिचिएको छ । अरु ठाउँमा पनि शंका गर्नुपर्ने अवस्था छ । त्यसैले दुवै पक्षका सीमाविद् राखेर छलफल गर्नुपर्छ । हाम्रो प्रश्न के हो भने दुवै देशका प्रतिनिधि नराखी चीनले नयाँ पिल्लर किन बनायो त ?”



प्रतिक्रिया दिनुहोस्