Logo

कार्यतालिका हेरफेर हुँदैमा कांग्रेसको महाधिवेशन सर्दैनः नेता लेखक



काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको चौधौं महाधिवेशन समयमै हुनेमा कुनै दुबिधा नभएको बताएका छन् । कार्यतालिका पटक पटक हेरफेर भइरहे पनि महाधिवेशन नसर्ने उनको स्पष्टोक्ति छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले ७० जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक भइसकेको र बाँकी ७ जिल्लाको पनि चाँडै टुंगिने दाबी गरे । उनले भने, “पहिले मेरो नेतृत्वमा रहेको छानबिन समिति थियो । त्यसले टुंगो लगाउन बाँकी भएको केही कामको जिम्मेवारी केन्द्रीय समितिले कृष्ण सिटौला, मीनेन्द्र रिजाल र मेरो समितिलाई दिएको हो । हामीले सबैजसो समाधान गरिसकेका छौं ।”

पटक पटक कार्यतालिका हेरफेर भइरहे पनि महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले त्यसमा दुबिधा नभएको उनले बताए । उनले भने, “अहिले नै महाधिवेशन सर्छ भन्ने छैन । समयमै हुने स्थिति छ । सबैभन्दा महत्त्वपूर्ण वडाको अधिवेशन हो । त्यहाँ सबैभन्दा बढी सहभागी हुन्छन् । वडा अधिवेशन भइसकेपछि पालिका, जिल्ला, प्रदेश, प्रतिनिधिसभा आदिको हुने हो । अब द्रुत गतिमा काम गरेर कांग्रेसको महाधिवेशन सम्पन्न गर्छौं । यसमा दुबिधा मान्नुपर्ने कुनै कारण छैन ।”

आगामी महाधिवेशनमा उपसभापति या महामन्त्री केमा लड्ने भन्ने निश्चित नगरेको उनले बताए । उनले भने, “अहिले मैले कुनै पनि पदमा उम्मेदवारी घोषणा गरेको छैन । तर म ब्याक भएको पनि होइन । उम्मेदवार हुनेमा दुबिधा छैन । कुन पदमा भन्ने पछि भनुँला ।”

नेता लेखकले शेरबहादुर देउवाले पार्टी र सरकार चलाउन नसकेको कुरा अस्वीकार गरे । उनले भने, “नेतृत्वबाट केही कमीकमजोरी भएका होलान् । तर म केही पनि गर्न सकेन भन्दिनँ । नेपाली कांग्रेसलाई निर्वाचनमा जनताले प्रतिपक्षमा बस्ने जनादेश दिएका हुन्, अहिले सत्तामा छ। केही राजनीतिक र वैधानिक जटिलताका कारण सरकारले पूर्णता नपाएको हो । यसै हप्ता परिणाम आउँछ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot