Logo

महाधिवेशनमा म पनि उम्मेद्धवारी दिन्छु, तर कुन पदमा भनेर पछि भनौंला : रमेश लेखक (भिडिओसहित)



प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले मंसिरमा पार्टीको महाधिवेशन हुने विश्वास दिलाएका छन् । उनले महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण वडा अधिवेशन अधिकांश जिल्लामा सम्पन्न भैसकेकोले अब कठिनाई नभएको जिकिर गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । त्यस्तै, उनले सरकारले पनि अब चाँडै पूर्णता पाउने दाबी गरे । उनले यही सरकारले चुनाव गराउने पनि स्पष्ट पारेका छन् । प्रस्तुत छ नेता लेखकसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली काँग्रेसमा क्रियाशिल सदस्यता विवाद समाधान भएको हो त ?

क्रियाशिल सदस्यताको विवाद समाधान भइसकेको छ । झण्डै ७० वटा जिल्लाको सुची पनि सार्वजनिक भइसकेको छ । साथै, निर्वाचनको तयारी भइरहेको छ । ६÷७ वटा जिल्लाको बाँकी छ, अब त्यसको पनि केही कार्यान्वयन गर्न बाँकी छ । त्यो पनि चाँडै टुँगिन्छ भन्ने लागेको छ ।

बाँकी जिल्लाहरुको विवाद चाहीँ कहिलेसम्म समाधान हुन्छ ?

आज दिउँसो हामी बस्छौं । त्यस्तो ठुलो विवाद छैन् । पहिला मेरै संयोजकमा बनेको क्रियाशिल सदस्यता केन्द्रीय छानबिन समितिले नै प्रायः सबै विवाद टुङ्गो लगाईसकेको थियो । टुङ्गो लाग्न नसकेका केही विवादहरु केन्द्रीय कार्यसमितीमा प्रस्तुत गरेका थियौं । ती विषयहरुलाई टुङ्गो लगाउन भनेर पूर्वमहामन्त्री कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल र मलाई केन्द्रीय कार्यसमितिले जिम्मा दिएको थियो । हामीले अरु पार्टीबाट काँगे्रसमा आउनुभएका साथीहरुको समायोजनसम्बन्धी विषयलाई समेतगरी अरु सबै टुङ्गो लगाउनुपर्ने विवाद टुङ्गो लगाईसकेका थियौं । यसमा थोरै कार्यान्वयनमा एकरूपता नभएकोले थोरै समस्या देखिएको हो । अरु समस्या समाधान भइसकेको छ ।

कांग्रेस महाधिवेशनको कार्यतालिका किन परिवर्तन भइरहेको छ ?

हो, यहाँले भनेकोजस्तो कार्यतालिका परिवर्तन भइरहेको छ । तर, अधिवेशन पनि प्रारम्भ भइरहेको छ । यहाँलाई थाहा छ । धेरै जिल्लाहरुमा वडा अधिवेशन सम्पन्न भइसकेको छ । पालिकाको अधिवेशन पनि सम्पन्न भइसकेको छ । बाँकी रहेका जिल्लामा दशैंअघि नै सम्पन्न गर्ने कुरा छ । हिमाली जिल्लामा त जिल्ला अधिवेशन नै यही कार्यतालिका सम्पन्न गर्ने भन्ने कुरा छ । तर, यहाँले भन्नुभएको पनि सत्य हो ।

क्षेत्र, प्रदेश र जिल्लाको अधिवेशन दशैंअघि सबै ठाउँमा सम्पन्न हुन्छ त ?

देशभरि सबै ठाउँमा त होला/नहोला तर अघिपनि मैले भनें–हिमाली जिल्लामा दशैंअघि अधिवेशन गर्ने कुरा छ । जुन ठाउँमा वडा र पालिकाको अधिवेशन भएको छैन्, ती ठाउँमा वडा र पालिकाको निर्वाचन हुन्छ । दशैंभित्र देशभरिका वडा र पालिकाको अधिवेशन सम्पन्न हुन्छ । दशैंपछाडि प्रदेश, प्रतिनिधिसभा र जिल्लाको सम्पन्न गर्नेगरि तयारी भइरहेको छ ।

कन्द्रीय महाधिवेशन सर्ने निश्चित् भएको हो ?

अहिले नै सर्छ भन्न आवश्यक छैन् । समयमै महाधिवेशन हुने स्थिति छ ।

तर, दशैं आईसक्यो कसरी मंसिर ९ गते महाधिवेशन सुरु होला ?

सबैभन्दा ज्यादा महत्वपूर्ण वडाको अधिवेशन हो । वडाको धेरै जिल्लामा भइसकेको छ । केही मात्र बाँकी छन् । जिल्लासम्मको दशैं र तिहारको बीचमा हुन्छ । तिहारपछि तयारी गरेर महाधिवेशन सम्पन्न गर्न सकिन्छ । त्यसकारण अहिले द्धिविधा मान्नुपर्ने अवस्था छैन् ।

तपाईं नेपाली काँग्रेसको महाधिवेशनमा उपसभापतिको उम्मेद्धवार हो की महामन्त्रीको ?

अहिले मैले यही पद भनेर घोषणा गरिसकेको छैन् । अब पहिला स्थानीय तहका निर्वाचन सम्पन्न होउन, त्यसपछि भनौंला ।

तपाईं उम्मेद्धवारी दिने तयारीमा हुनुहुन्थ्यो, अहिले किन ब्याक हुनुभयो त ?

होईन, त्यस्तो तयारी पनि गरेको थिएन । ब्याक पनि भएको छैन् । उम्मेद्धवार हुने हो, त्यसमा कुनै द्धिविधा छैन् । तर, कुन पदमा हुने भन्ने कुरा केही समयपछि भनौंला ।

शेरबहादुर देउवाले पार्टी र सरकार दुवै चलाउन सक्नुभएन भनेर आलोचना भइरहेको छ, किन यस्तो भयो ?

यहाँले भन्नुभएको जस्तो होइन । भर्खरै हामीले वडा र पालिकाको अधिवेशन सम्पन्न गरेको केही मात्र बाँकी रहेको भन्ने कुरा गरेका छौं । कोभिडका कारणले महाधिवेश केही ढिलो भएपनि हामीले समयमा नै महाधिवेशनको काम प्रारम्भ गरेका छौं । त्यसोभएको कारण पार्टी सञ्चालन नै भएको छैन् भन्ने कुरा होइन । केही कमजोरी भएका होलान, त्यसमा कुनै द्धिविधा भएन । अब जहाँसम्म सरकारको कुरा छ, यो सरकार विशेष परिस्थितिमा निर्माण भएको हो । नेपाली काँगे्रसलाई नेपाली जनताले प्रतिपक्षमा बस्ने जनादेश दिएका हुन । जनताले नेकपालाई सरकार चलाउने जिम्मा दिएका हुन् । तर, उनीहरुकै गल्तीले गर्दा बाध्यात्मक अवस्था आएपछि नेपाली काँगे्रसले सरकारको जिम्मा लिनुपर्ने भएको हो र नेपाली काँगे्रसको नेतृत्वमा अहिले सरकार चलिरेहको छ ।

सरकार अघि बढेको छ, तर केही पनि काम हुन सकेको छैन । मन्त्रिपरिषद विस्तार, दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनेजस्ता कामसमेत हुन सकेका छैनन्, सरकारले किन काम गर्न सकेन ?

होइन, यहाँले भनेकोजस्तो एउटा कुरा सत्य हो । मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् । यसको कारणले सरकारले आरोप खेप्नुपरिरहेको छ । मैले यहाँलाई अघि पनि भने यो सरकार विशेष अवस्थामा गठन भएको हो । त्यसैले यो सरकार कुनै एउटा पार्टीको सरकार होईन । यो गठबन्धनको सरकार हो । गठबन्धन पनि कस्तो सरकार हो भने बिभिन्न राजनीति दल बिभाजन भएको अवस्थामा र ती विभाजित राजनीतिक दलहरुको बीचबाट सहमतिका साथ मन्त्रिपरिषद् बनाउनुपर्ने अवस्था हो । त्यसैले कतिपय जटिलताहरु छन् । कानूनी र संवैधानिक जटिलताहरु छन् । सम्मानित सर्वोच्च अदालतमा कतिपय मुद्दाहरु छन् । यस्ता कुरालाई पनि हेर्नुपर्ने अवस्था छ । सरकारका यस्ता कुराहरुको प्रभाव परेको छ । तर, सरकारले केही पनि काम गरेको छैन् भन्ने कुरा होइन् । नागरिकलाई कोभिड–१९ बाट बचाउनुपर्ने छ । यसमा सरकारले जिम्मेवारीका साथ काम गरिरहेको छ । सरकारको न्यूनतम साझा कार्यक्रममा पनि पहिलो बुँदाका रुपमा सरकारले कोभिड–१९ बाट जनतालाई जोगाउने भन्ने कुरा उल्लेख गरेका थियौं । आजको दिनमा नागरिकहरुलाई राम्रोसँग खोप दिने काम भइरहेको छ । यसको प्रभाव देखिएको छ । संक्रमितहरु दिन प्रतिदिन घटिरहेका छन् । त्यसैले सरकारले पहिलो कामको रुपमा जनताको जीवनरक्षामा हो भनेर अघि बढेको हो । यसमा सरकार सफल भइरहको छ । यो सत्य हो ।

तर, शेरबहादुर देउवा असफल र असक्षम हुनुभयो भन्ने आरोप त छ नि ?

केही राजनीतिक जटिलताहरु छन् । तर, सरकार आफ्नो प्राथमिक कर्तव्यबाट बिमुख भएको छैन् । सरकारले गर्ने आफ्नो आधारभुत कर्तव्य गरिरहेको छ । जहाँसम्म मन्त्रिपरिषद विस्तारको कुरा हो यसमा केही कठिनाई छन् । त्यसैले केही ढिलो भएको हो । यो पक्षमा सरकारको आलोचना भइरहको छ । यो सत्य हो । अब यसलाई चाँडोभन्दा चाँडो गर्नुपर्छ । मलाई लाग्छ यही हप्तामा मन्त्रिपरिषद् विस्तार हुन्छ ।

त्यसोभए मन्त्रिपरिषद विस्तार हुन अब ढिलाई हुँदैन् ?

यसबारेमा सरकारमा संलग्न हुने राजनीतिक दलका शीर्ष नेताहरुको बीचमा निरन्तर सम्वाद र छलफल भइरहेको छ ।

छलफल भएको त धेरै भयो, तर जनताले परीणाम खोजेका छन्, अब जनताले परीणाम चाहीँ कहिले पाउँछन् ?

केही ढिलो भएको हो । जटिलताहरु रहेका छन्, तर अब छिट्टै परीणाम आउँछ ।

दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता गरेर जटिलतालाई कहिले हटाउने तयारी छ त ?

यसबारेमा छलफल भइरहेको छ । जटिलताको गाँठो अब फुक्छ ।

पार्टी फुटाएर तपाईंहरुलाई साथ दिएका माधवकुमार नेपाल र उपेन्द्र यादवको दलले महत्वपूर्ण मन्त्रालय मागिरहनुभएको छ, यसबारेमा कसरी विवाद मिलाउनु हुन्छ ?

म यहाँले भनेकोभन्दा थोरै अगाडि जान चाहान्छु । मैले अघिनै भनिसकें एउटा विशेष परिस्थितिमा यो सरकार बनेको हो । प्रतिनिधि विघटन भइसकेपछि नेपाल कम्युनिट पार्टीको सरकार असफल भएपछि, खासगरेर माननीय केपी शर्मा ओलीको असफलता र प्रतिनिधिसभाको विघटन भएपछि अहिलेको सरकार जोगाउने र कुन ढंगले अघि बढ्ने भन्ने बारेमा ब्यापक मतान्तर र विचार विमर्शहरु भए । ती मतान्तरहरुका कारणले केही पार्टीहरु फुटे । एकातर्फ नेकपाको असफलता अनि अर्कोतर्फ पार्टीहरुको बिभाजन, यी विषयहरुबाट नयाँ सरकार गठनको स्थिति आयो । त्यसो भएको हुँदा जटिलताहरु छ । साथै, बिभिन्न राजनीतिक दलहरु सरकारमा संलग्न भइरहेका छन् । कतिपय हुने क्रममा छन् । त्यसोभएकोले अब राजनीतिक दलहरु सरकारका संलग्न हुँदा कुन मन्त्रालय कुन दलले नेतृत्व गर्ने भन्ने कुरा स्वभाविक रुपमा छलफल हुन्छ । यसबारेमा छलफल भइरहेको छ । तर, मन्त्रिपरिषद् विस्तार यही कारणले हुन नसकेको होइन् । विभिन्न राजनीतिक र वैधानिक जटिलताहरुको बीचमा केही ढिलो भएको छ । तर, अब चाहीँ छिट्टै विस्तार हुन्छ ।

त्यसोभए देउवा नेतृत्वको सरकारले वैशाखमा चुनाव गराउँछ कि मंसिरमा ?

अब, ठ्याक्कै कहिले हुन्छ ? भन्ने कुरा त भन्न सकिँदैन । तर, अब निर्बाचन गराउने यही सरकारले हो ।



प्रतिक्रिया दिनुहोस्