Logo

भारतीय राजदूतावासद्वारा वनविज्ञान अध्ययन संस्थानलाई शैक्षिक सामाग्री हस्तान्तरण



वाग्मती, ११ असोज: भारतीय राजदूतावासको काउन्सिलर अफिस वीरगञ्जले मकवानपुरको हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानलाई आज शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सो काउन्सिलर अफिसका काउन्सिलर नितेशकुमारले सो संस्थानका प्रमुख डा शिवकुमार मानजनलाई अङ्ग्रेजी र हिन्दीमाध्यमका सांस्कृतिक किताब तथा पत्रपत्रिका हस्तान्तरण गरेका थिए । समारोहमा काउन्सिलर नितेशले नेपालको शैक्षिक क्षेत्रको विकासमा भारतले सहयोग गर्दै आएको र थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा संस्थानका प्रमुख डा मानजनले अध्ययन संस्थानको भौतिक पूर्वाधार निर्माण र विस्तारमा थप सहयोगका लागि आग्रह गरे ।

भारत सरकारको सहयोगमा विसं २०२१ मा हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानको शैक्षिक भवनलगायत पूर्वाधारको शिलान्यास भएको थियो । विसं २०२४ मा सुरु भई सो संस्थानमा वन विज्ञानतर्फ स्नातक र स्नातकोत्तरको अध्ययन तथा अध्यापन भइरहेको छ । साथै भारत सरकारको सहयोगमा संस्थानको हाताभित्र रु चार करोडको लागतमा म्युजियम कम्प्लेक्स निर्माण भएको प्रमुख मानजनले जानकारी दिए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्