Logo

‘एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ, सय दिन नपुग्दै सरकारको बारेमा टिप्पणी गर्नुहुँदैन्’ : रमेश लेखक (भिडिओसहित)



‘तोकिएकै मितिमा कांग्रेसको महाधिवेशन हुन्छ’
काठमाडौं, ११ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले सरकार गठन भएको यत्तिका दिन बितिसक्दापनि अझैसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर जनस्तरबाट आवाज उठ्नु स्वभाविक भएको भन्दै अब एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । तर, अब एक÷दुई दिनभित्रै सरकारले पूर्णता पाईसक्ने उनको दाबी छ ।

उनले भने,‘आज सरकार बनेको दुई महिनाभन्दा बढि भैसकेको छ, तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार भएन ? भनेर जनस्तरबाट आलोचना भैरहेको छ, बास्तवमा सरकारलाई पूर्णता नदिएको भनेर यो आलोचनाको विषय बनेको छ । ढिलो पक्कै पनि भएको हो । अहिले गठबन्धनको सरकार छ । गठबन्धनमा आवद्ध ती दलहरुमा पनि विभाजन भएर आएका दलहर छन्, उनीहरुलाई संलग्न गराएर सरकार बनाउनुपर्नेछ । राजनीतिक र वैधानिक कारणले सरकारलाई पूर्णता दिने कुरामा ढिलाई भएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा सबै दलका मुख्य नेताका बीचमा सम्वाद भैरहेको छ । विचार विमर्श भैरहेको छ । अब चाँडै हुन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै लेखकले सरकार गठन भएको सय दिनसम्म सरकारका बारेमा खासै टिप्पणी नगर्ने प्रचलन रहेको सुनाए । ‘प्रम निर्वाचित भएको सय दिनसम्म टिप्पणी गरि नहाल्ने चलन छ’,उनले भने–‘टिप्पणी गर्नु त्यति वाञ्छनीय हुँदैन् । यो सरकार गठन भैसकेपछि सरकार कसरी अघि बढिरहेको छ ? भन्नु भन्दापनि पहिले, यो सरकार मुलुकको विशेष राजनीतिक परिस्थितिमा गठन भएको हो । कांग्रेसले सरकारको नेतृत्व मुलुकको विशेष परिस्थितिमा लिएको छ ।’

उनले गत निर्वाचनमा जनताले नेकपालाई दुई तिहाई बहुमत दिएर सरकारमा पठाएको र नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएको स्मरण गराए । तर, पछिल्लो तीन वर्षमा नेकपाले ठीक ढंगले सरकार नचलाएको उनको भनाई छ । उनले भने,‘बरु, यो तीन वर्षमा नेकपाको सरकारबाट संविधान कुल्चिने काम भयो । प्रकरान्तरले नेकपा तीन टुक्रा भयो । कांग्रेसले बाध्यताले सरकारको नेतृत्व ग्रहण गरेको हो । हामीले बडो सहज अवस्थामा सरकारको नेतृत्व लिएको होईन् । सरकार गठन भैसकेपछि गठबन्धनमा रहेका दलहरुले न्यूनतम साझा कार्यक्रम घोषणा गर्यौं । त्यसमा सरकारले के–के काम गर्ने प्राथमिकता भनेर पहिचान गर्ने काम भएको छ ।’

नेता लेखकले वर्तमान सरकारले सबैभन्दा प्राथमिकता दिएर कोभिड–१९ बाट नेपाली जनतालाई खासगरी कोभिडको जोखिमबाट बचाउने प्रण लिएको र सोहीअनुसार काम गरिरहेको सुनाए । उनले भने,‘कोभिडको जोखिमबाट जनतालाई बचाउने भनेर सरकारले पनि घोषणा गरेको छ । यो विषय गठबन्धनको तर्फबाट सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा पनि अभिव्यक्त भएको छ । कोभिडको प्रभावले मुलुकमा परेको नकारात्मक प्रभाव, यी सबै नकारात्मक प्रभावालाई न्यूनीकरण गर्ने, मुलुकको अर्थतन्त्रलाई चलायमान गर्ने भनेर प्राथमिक कामको पहिचान गरेको छ । आज जनतालाई कोभिडबाट बचाउनको लागि सरकारले अत्यन्तै द्रुत गतिमा खोपको व्यवस्था गरेको छ । कोरोनाबाट जनता जोगाउने कामममा सरकार लागेको छ । अहिले संक्रमण दर घटिरहेको छ । अस्पतालमा भर्ना हुनेको दर घटेको छ । मृत्यु हुने दर पनि घटेको छ । सरकार अहिले कोभिडविरुद्धको लडाई लडिरहेको छ ।’

त्यस्तै, उनले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशनपनि सम्पन्न हुने विश्वास दिलाए । उनले भने,‘हामी १४औं महाधिवेशनको पूर्व सन्ध्याामा छौं । महाधिवेशन प्रक्रिया सुरु भैसकेको छ । क्रियाशिल सदस्यताको विवाद छैन् । ६९ जिल्लाको क्रियाशिल सदस्यताको कामकुरा सम्पन्न भैसकेको छ । अन्तिम नामावलीसमेत प्रकाशित भैसकेको छ । ८ वटा जिल्लाको क्रियाशिल सदस्यताको गर्नुपर्ने निर्णय भैसकेका छन् । निर्णयबमोजिम कार्यसम्पादन गर्नुपर्ने केही काम बाँकी छन् । आज÷भोलिमा यी काम सम्पन्न हुनेछ । क्रियाशिल सदस्यताको अन्तिम नामावली प्रकाशन हुन्छ र निर्वाचन समितिले पनि यसलाई प्रकाशित गर्छ ।’

दशैंअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने उनको भनाई छ । उनले थपे,‘कुनै–कुनै जिल्लामा विषम् परिस्थितिबाहेक २१ वटा हिमाली जिल्लामा पनि दशैंभित्रै अधिवेशन गर्ने लक्ष्य छ । दशैंभित्र ७७ वटै जिल्लाको वडा र पालिकाको अधिवेशन भैसक्छन् । अहिलेपनि अधिकांशको वडा र पालिका अधिवेशन सम्पन्न भैसकेको छ । महाधिवेशन तयारी अघि बढिसकेको छ । हामी समयमै महाधिवेशन गर्ने अठोटका साथ लागेका छौं ।’



प्रतिक्रिया दिनुहोस्