Logo

देउवाको सन्देश लिएर मन्त्री कार्की बालकोट पुग्दा तरंग



काठमाडौं, १२ असोज । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेतुको काम गरिरहेका छन् । देउवाको सन्देश लिएर कार्कीले पटक पटक ओलीलाई भेटेका छन् ।

प्रदेश नं १ कै भएकाले पनि ओलीसँग कार्कीको निकटता छ । राष्ट्रपति विद्यादेवी भण्डारीका नातेदार समेत रहेका कार्कीको एमालेवृत्तमा राम्रो सम्बन्ध छ । त्यसैले देउवाले उनलाई विश्वास गरेर सन्देश पठाउने गरेका छन् ।

कार्कीले बालकोट पुगेर आज पनि ओलीसँग भेट गरेका छन् । यो भेटले राजनीतिवृत्तमा तरंग ल्याएको छ । आजको भेटमा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे चासो राखे ।

अध्यादेश निष्कृय बनाएपनि ओलीले असन्तुष्टि पोखेका थिए । उनले देउवामार्फत् पठाएको सन्देश उल्लेख गर्दै ओलीका प्रेस संयोजक रामशरण बजगाईंले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अध्यादेश बिल्कुलै असंवैधानिक, षड्यन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।’

ओलीले संसदको मानमर्दन गर्दै अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुषित मनसायबाट अभिप्रेरित रहेको बताएका छन् । ओलीले अध्यादेश ल्याउनु र फेरि निष्कृय पार्नका लागि खारेजीको सूचना जारी गर्ने कदमप्रति असन्तुष्टि पोखेका थिए ।

यसअघिको भेटमा एमसीसी पारित गर्ने विषयमा कार्कीले ओलीसँग सन्देश बोकेर गएका थिए । एमसीसीबारे एमाले अनिर्णत छ । एमालेको साथ पाएमा एमसीसी पारित हुनेमा देउवा ढु्क्क छन् ।

पछिल्लो समय राजनीतिक लेनदेनका लागि महत्वपूर्ण प्रयासहरु भइरहेका छन् । देउवा र ओलीबीच भद्र सहमति गरेर देशलाई अर्ली इलेक्शनमा लानेबारे समेत प्रयास बढाइएको चर्चा छ । ओलीसँग कार्कीको भेटहरुलाई यसकारण अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot