Logo

डुबेर बेपत्ता किशोरको शव फेला



चरीकोट, १२ असोज: दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ ।

सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बिगु गाउँपालिका–४ लादुकका १८ वर्षीय टीकाराम तामाङको शव आज बिहान प्रहरीले फेला पारेको हो ।

तामाङको शव पोखरीभित्र हिलोमा गाडिएको अवस्थामा आज बिहान फेला परेको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए । घर नजिकै शान्ति आर्दश माविसँगै रहेको पोखरीमा तामाङ हिजो दिउँसो साथीसँग पौडी खेल्न गएको र पोखरीमा डुबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय सिङगटीको टोली घटनास्थलमा खोजीको लागि पुगेको भए पनि राति खोजी गर्न समस्या भएपछि स्थानीयवासीको सक्रियतामा आज बिहान शव फेला पारेको प्रहरीले जनाएको छ ।

परीक्षणका लागि शवलाई चरीकोट अस्पतालमा ल्याउने तयारी भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्