Logo

‘खोजिरहेछ देशले एक युग नायक’ नामक म्युजिक भिडियो सार्वजनिक (भिडिओसहित)



काठमाडौं, १२ असोज । डा. नवि अधिकारी (टाकिन्द्र) को शब्द र सन्तोष श्रेष्ठको स्वरमा सजिएको ‘खोजिरहेछ देशले एक युग नायक’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरेर रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले उक्त भिडिओ सार्वजनिक गरेका हुन् ।

युवराज दाहालको अभिनय रहेको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । भिडियोलाई राजकुमार केसीले खिचेका हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् । गीतलाई देबेन्द्र नेवाले एरेन्ज गरेका हुन भने गायक सन्तोषकै संगित रहेको छ । भिडियोलाई गोल्डेन क्रियसन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पत्रकार धमलाले गीत धेरै राम्रो भएको प्रतिक्रिया दिए । उनले गायक, संगितकारको खुलेर प्रशंसा गरेका छन् । उनले देश र जनताले खोजेको गीत आएको भन्दै आगामी सांगितिक यात्राको लागि शुभकामना दिए । उनले उक्त गीतले समाज रुपान्तरणको लागि महत्वपूर्ण टेवा पुग्ने विश्वास दिलाए ।

उनले भिडिओमा अभिनय गरेका युवराज दाहालको पनि खुलेर प्रशंसा गरे । उनले नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहदेखि जंगबहादुर राणासम्म, र पछिल्लो समयसम्म आउँदा धेरै राजनेता आएको स्मरण गराए । उनले नेपाली जनताले राणा शासन अन्त्यको लागि ठूलो क्रान्ति गरेको पनि सुनाए । ००७ सालको क्रान्तिको उनले चर्चा गरेका थिए ।

उनले ईतिहामा देशको लागि धेरै व्यक्तिहरुको उल्लेखनीय भूमिका खेलेको भन्दै उनीहरुको योगदानको सबैले कदर गर्नुपर्नेमा जोड दिए । उनले देशको हितको लागि आजपनि मेलमिलाप आजपनि उत्तिकै आवश्यक रहेको सुनाए । उनले विपी कोइरालाको मेलमिलापको आजपनि सान्दर्भिक रहेको सुनाए ।

उनले २०४६ सालको जनआन्दोलनको सफल पार्नको लागि आफू पत्रकारितामा लागेको पनि स्मरण गराए । उनले भने,‘म १४ वर्षको उमेरमा, जनआन्दोलनलाई सफल पार्नको लागि मिशन पत्रकारितामा लागेको मान्छे हुँ, त्यतिवेला गणेशमान सिंहको घरमा माघ ५, ६ र ७ गते बैठक थियो, जनआन्दोलन सफल पार्नको लागि त्यो मिटिङ थियो । त्यो बैठकको समाचार सम्प्रेषण गर्ने रिपोर्ट हुँ म । त्यतिवेला दिग्गज नेताहरु हुनुहुन्थ्यो । भारतबाट चन्द्रशेखर, ज्योति बशुजस्ता सिनियर नेताहरु आउनुभएको थियो । २०४६ सालको जनआन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंहको त्यागको म सम्मान गर्न चाहन्छु । हाम्रो देशमा धेरै किसिमका नायकहरु आएका छन् । तर, ती नायकहरु समयसापेक्ष हुन सके कि सकेनन ? म राजा वीरेन्द्रलाई म प्रजातन्त्रवादी भन्छु । वीरेन्द्रले गणेशमानलाई प्रधानमन्त्री खान भन्नुभएको थियो, तर उहाँले किसुनजीलाई बनाउनुभयो । उहाँ किसुनजी त लोकतन्त्रको पिता हो ।’



प्रतिक्रिया दिनुहोस्