Logo

संविधान मिचिँदापनि सञ्चारमाध्यम मौन देखिएको भन्दै एमाले अध्यक्ष ओलीले पोखे गुनासो



काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सरकारबाट संविधान मिचिँदापनि सञ्चारमाध्यम मौन बसेको भन्दै गुनासो पोखेका छन् । आज (मंगलबार) सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो गुनासो पोखेका हुन् ।

उनले भने,‘एमाले आज सत्तापक्षबाट प्रतिपक्षमा गएको छ । सरकारमा छँदा हामीले सञ्चारमाध्यमबाट महत्वपूर्ण सहयोग पायौं । प्रधानमन्त्रीको हैसियतमा मैले पाएँ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो । ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्यो।’

उनले मिडियाले खबरदारी नगरे सरकार लापरवाह हुने रहेछ भन्ने पनि टिप्पणी गरे । उनले वर्तमान सरकारलाई मिडियाले खबरदारी गर्नुपर्ने सुझाव दिएका हुन् ।सम्बोधनको क्रममा ओलीले संसद् विघटन गर्नु सही भएको पनि तर्क गरे । उनले ताजा जनादेशमा जानु कसरी प्रतिगामी कदम हुन्छ ? भन्दै प्रश्नसमेत गरे । उनले एमाले लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने पार्टी भएको सुनाए । उनले पार्टीको दशौं महाधिवेशनको लागि आफूहरु तयारीमा होमिएको र सोहीअनुसार दस्तावेज तयार भएको पनि सुनाए । उनले पार्टीको आगामी महाधिवेशन महत्वपूर्ण हुने टिप्पणी गरे ।

उनले भने,‘लोकतन्त्रलाई एउटा प्रणालीको रुपमा मात्रै होईन, कसरी हामी लोकतन्त्रलाई अझै संस्थागत गर्दै लैजान सक्छौं ? कसरी प्रभावकारी बनाउँदै देश र जनताको हितमा केन्द्रित गर्न सक्छौं भनेर ती कुरा गर्नेछौं । यी कुराहरु देशसँग सम्बन्धित छन् । जनताको समस्यासँग सम्बन्धित छन् । किनभने यो पार्टी यसो, पार्टी खोलौं न भनेर खोलिएको होईन, राष्ट्रमा भएका समस्या सामना गर्न र अगाडि बढ्ने, देशको हितलाई कमजोर हुन नदिनेगरि यो पार्टीले काम गर्छ । अहिले हामी सबैलाई थाहा छ, नेकपा एमालेको भूमिका सत्ता पक्षबाट प्रतिपक्षमा गएको छ ।’



प्रतिक्रिया दिनुहोस्