Logo

१० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नभए एमाले फेरि संकटग्रस्त हुन्छः डा. भीम रावल



काठमाडौं, असोज १३ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नभए पार्टी फेरि संकटग्रस्त हुने चेतावनी दिएका छन् । आसन्न विधान महाधिवेशनमा १० बुँदे अनुसार नै प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “१० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन गर्नुपर्छ । विधान महाधिवेशनमा पनि त्यसै अनुसार प्रतिनिधित्व हुनुपर्छ । सुदूरपश्चिम प्रदेश होस् कि अन्य कुनै पनि ठाउँका नेता कार्यकर्तामाथि कुनै पनि अन्याय हुनुहुन्न ।”

फेरि पनि एमालेमा भएका सहमति कार्यान्वयन नगर्ने, यो गुट वा त्यो गुट भन्ने, पार्टी एकता बँचाएको हिसाबकिताब नगर्ने हो भने पार्टी फेरि संकटग्रस्त हुने उनको भनाइ छ । उनले थपे, “सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो भन्ने १० बुँदे सहमतिमै स्पष्ट भएको कुरा हो । हामीले नीति, निर्णय, विधि, पद्धति र प्रणालीमा जोड दिएका छौं । पहिले म सुदूरपश्चिम प्रदेश समन्वय कमिटीको संयोजक थिएँ, एकीकरणपछि इन्चार्ज भएँ । २०७५ जेठ २ अगाडि जाने हो भने यसमा कुनै समस्या नै आउँदैन । आफूलाई जे मन लाग्यो, त्यही गर्ने छुट कसैलाई छैन ।”

१० बुँदे सहमति कार्यान्वयनका लागि केन्द्रीय कमिटीको अन्तर पार्टी निर्देशन-१२ कार्यान्वयन हुने आशा रहेको उनले बताए । उनले थपे, “केन्द्रीय कमिटीबाट जारी अपानि-१२ कार्यान्वयनमा जहाँ जहाँ समस्या देखिएका छन्, त्यहाँ त्यहाँ पूर्ण रुपमा पालना हुनुपर्छ । विगतमा भएका कमीकमजोरीको पुनरावृत्ति हुनुहुँदैन भन्ने मेरो धारणा हो । तर हिजोको बैठकमा हामी को इन्जार्च भन्ने विषयमा प्रवेश नै गरेनौं, छलफल पनि गरेनौं ।”

नेता डा. रावलले अमेरिका भन्दा अगाडि बढेर भक्तिभाव र दलाली गरी देशको स्वाभिमान कसैको पाउमा चढाउने प्रवृत्तिबाट आफू आश्चर्यचकित भएको पनि बताए । उनले भने, “मलाई आश्चर्य लाग्छ, दुःख पनि लाग्छ । एमसीसीमा अमेरिका भन्दा अगाडि बढेर भक्तिभाव देखाउने क्रमले हामीले महाकाली सन्धिभन्दा ठूलो दुर्दशा भोग्नुपर्ने हुन सक्छ ।”



प्रतिक्रिया दिनुहोस्