Logo

प्रधानमन्त्री देउवाले ईन्द्र बानियाँलाई भने–‘बाग्मतीको मुख्यमन्त्री तपाईँलाई बनाउँछु, अघि बढ्नुहोस’



काठमाडौं, १३ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बाग्मती प्रदेशमा पनि आफ्नै नेतृत्वमा सरकार बनाउने भएको छ। यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई अघि बढ्न भनेका छन् । आजमात्रै बानियाँले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटमा प्रधानमन्त्री देउवाले बाग्मतीमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउने र त्यसको लागि बानियाँलाई अघि बढ्न भनेका छन् । सत्तापक्षीय गठबन्धनमा भने बाग्मतीमा कसलाई मुख्यमन्त्री बनाउने भन्नेबारे अहिलेसम्म छलफल नभएको नेताहरुले बताएका छन् ।

उता, गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी) ले पनि बाग्मतीमा आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गरिरहेको छ । यसको लागि राजेन्द्र पाण्डेको नाम मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ। अहिले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा छिन् ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले शाक्यलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेकी हुन् । मुख्यमन्त्रीमा बानियाँ अघि सरे नेकपा (माओवादी केन्द्र) ले पनि उनलाई नै सहयोग गर्ने बुझिएको छ । यसबारेमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भद्र सहमतिसमेत भएको जनाईन्छ ।



प्रतिक्रिया दिनुहोस्