Logo

आफ्नाले साथ छोडेपछि सकसमा देउवा, फकिएलान् त सिटौला ?



असोज १४, काठमाण्डौ । १३ औँ महाधिवेसनमा शेरबहादुर देउवालाई सभापति बनाउन दिनरात खटिएका नेताहरु विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ अहिले उनीसँग टाढा हुँदैछन् । दुवैले सभापतिमा दाबी गर्दा फेरि एक पटक नेपाली कांग्रेसलाई हाँक्ने योजनामा रहेका देउवाको मुश्किल बढेको छ । ती दुईको साथ बीना फेरि सभापति बन्न नसक्ने ठम्याइ देउवाको छ । निधि सम्पर्क कार्यालय खोलेरै सभापतिको दौडमा निस्किएपछि उनलाई मनाउन नसकिने देउवा खेमाले बुझिसकेको छ ।

गोपालमानलाई अझै पनि फकाउन सकिने सुझाव उनी निकट नेताको छ । तर, देउवाले आफ्नो खेमामा निधि र श्रेष्ठ दुवैको अभाव पुरा गर्न सक्ने क्षमता भएको नेताका रुपमा कृष्ण सिटौलालाई रोजेका छन् । १३ औँ महाधिवेसनमा सभापतिको प्रारम्भिक चरणबाट बाहिरिएपछि सिटौलाले देउवालाई सभापति बन्न सहयोग गरेका थिए । त्यही कारण उनी अहिले पनि सिटौलालाई आफ्नो पक्षमा पार्न सकिने कुरामा विश्वस्त छन् ।

त्यसका लागि देउवाले १४ औँ महाधिवेसनमा सभापतिमा जितेपछि सिटौलालाई कार्यवाहक सभापति बनाएर आफूले सरकार चलाउने आश्वासन समेत दिइसकेका छन् । देउवाको प्रस्तावमा सिटौला सकारात्मक रहेको उनी निकटका नेताहरु बताउँछन् । कहिले देउवा त कहिले वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा उभिए जस्तो गर्ने नेता सिटौला चुनाव लडे पनि सभापतिमा जित्न नसकिने कुरामा भने ढुक्क छन् । त्यसैले देउवाको प्रस्ताव उनका लागि सुनमा सुगन्ध भएको छ ।

फेरि नेपाली कांग्रेसमा कार्यवाहक सभापति बनाइनु नौलो कुरा पनि होइन । पञ्चायत कालमा वीपी कोइराला निर्वासनमा भारतमा रहँदा सुवर्ण समसेर राणाले कार्यावाहक सभापतिका रुपमा नेपाली कांग्रेसको नेतृत्व गरेका थिए । त्यही बेलादेखि कांग्रेसमा कार्यवाहक सभापतिको प्रचलन सुरु भएको हो । पछि स्वास्थ्य खराब भएपछि वीपी कोइरालाले कृष्णप्रसाद भट्टराईलाई कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

यस्तै गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए । सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेलले कार्यवाहक सभापति कै रुपमा कांग्रेसको १३ औँ महाधिवेसन गराएका थिए । सरकार र पार्टी एकसाथ चलाउन कठिनाइ महसुस गरिरहेका देउवाले फेरि सभापतिमा जित हात पार्न सकेको खण्डमा आगामी चुनावपछि निर्विवाद रुपमा सरकारको नेतृत्व गर्न पाउने छन् ।

साथै सभापतिमा सघाएका नेतालाई कार्यवाहक सभापति बनाएर दोहोरो जिम्मेवारीको बोझलाई हलुको बनाउने रणनीतिमा समेत देउवा छन् । साथै कार्यवाहकका रुप मै भएपनि कांग्रेसको नेतृत्व गर्न पाउनु सिटौलाको पनि राजनीतिक सफलता हुनेछ । त्यही कारण अहिले नेपाली कांग्रेसमा भित्र भित्रै देउवा र सिटौलाले मिठो खिचडी पकाउन सुरु गरि सकेका छन् ।



प्रतिक्रिया दिनुहोस्