Logo

शुक्रबारदेखि साफ च्याम्पियनसिप, अलमुताइरीको अग्नि परीक्षा



असोज १०, काठमाण्डौ । शुक्रबारदेखि माल्दिभ्समा शुरु हुन गईरहेको साफ च्याम्पियनसिपको उद्घाटन खेल तालिका परिवर्तन गरिएका् छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसअघि उद्घाटन खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्ने कार्यक्रम रहेकोमा परिवर्तन गर्दै पहिलो श्रीलंका र बंगलादेश भिड्ने जानकारी दिएको हो ।

माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुने श्रीलंका र बंगलादेशबीको उद्घाटन खेल नेपाली समय अनुसार पौने ५ बजे हुनेछ । त्यस्तै सोही दिन हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स पौने दश बजे खेल्नेछन् । अन्य खेलहरुको तालिका भने कुनै फेरबदल नभएको साफले जनाएको छ ।

राउन्ड रोविनको अन्तिम दिन असोज २७ गते दिउँसो नेपाल र बंगलादेश तथा राती भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनका शीर्ष २ टोलीले असोज ३० गते राती ८ः४५ बजे उपाधिका लागि खेल्नेछन् । नेपाली टोली अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन ।

यसैबीच नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मैदानमा नतिजाका लागि लड्ने बताएका छन् । मालेमा आज आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले माल्दिभ्समा कुनैपनि टिमसँग नडराउने र नतिजाका लागि मैदानमा लड्ने बताएका हुन् ।

उनले भने–हामी गोर्खाली हौँ । हामीले विश्वमा इतिहास बनाएका छौँ । हामी कसैसंग डराउने छैनौँ ।

कप्तान किरणले नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको र नतिजाका लागि अन्तिमसम्म प्रतिस्पर्धा गर्ने बताए । ’सबै खेल कठिन छ । तर, हामी फाइट गर्ने छौँ । हामीसँग युवा र अनुभवी गरि राम्रो मिश्रित टिम छ,’ उनले भने, ’हामी फाइनल पुग्न चाहान्छौ । जसका लागि हरेक खेल जित्नु पर्छ ।’

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा रहेको नेपालले साफको उपाधि जित्ने लक्ष्य बनाएको छ । अलमुताइरीले नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी लिएदेखि नै साफको उपाधी जित्ने दावी गर्दै आएका छन् । त्यसैले पनि यो प्रतियोगिता उनका लागि अग्नि परीक्षा हो ।

नेपालले अहिलेसम्म साफको उपाधि जित्न सकेको छैन । साफको फाइनल समेत खेलेको छैन ।

माल्दिभ्स जानु अघि नेपाली टिमले कतारमा विशेष तयारी गरेको थियो । नेपालले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

यसपटक प्रतियोगितामा दक्षिण एसियाका कुल ५ टोलीहरुले सहभागिता जनाउँदै छन् । पाकिस्तान र अफगानिस्तानले भाग नलिएका हुन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । आयोजक माल्दिभ्स प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो । दक्षिण एसियामा नेपाल र भुटानले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेका छैनन् ।।



प्रतिक्रिया दिनुहोस्