Logo

माधव नेपाललाई राम राम भन्ने पनि कोही हुन्नः खिमलाल भट्टराई



काठमाडौं, असोज १५ । नेकपा एमालेका नेता खिमलाल भट्टराईले कांग्रेसको टेको खोजेर हिँडेका माधवकुमार नेपालको हालत आगामी चुनावमा देखिने ठोकुवा गरेका छन् । माधव नेपाल समूहमा मुस्किलले पाँच-सात प्रतिशत मानिस लागेको उनको दाबी छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “माधवकुमार नेपाल कांग्रेसको टेको खोजेर हिँड्नुभएको छ । उहाँ आफैंले भनिसक्नुभएको छ, भीरबाट धकेल्नेहरुलाई कतै देखिनँ । उहाँ साँच्चै भीरबाट लडिसक्नुभयो, उहाँलाई राम राम भन्ने कोही पनि छैन । अब चुनावमा देखिहाल्नुहुन्छ ।”

माधव नेपाल समूह चोइटिँदाको बाबजुद एमाले फेरि पनि सत्तामा आउने उनले बताए । उनले भने, “एमालेलाई केही धक्का त अवश्य लागेको छ । केही नेता-कार्यकर्ता जानुभएको छ । तर त्यो भयंकर चाहिँ हुँदै हुँदैन । मुस्किलले पाँच-सात प्रतिशत हो । विधान महाधिवेशनपछि एमाले जागेर आउँछ । निकट भविष्यमा सिंहदरबारको ढोकामा एमाले नै आउँदै छ ।”

एमालेभित्र विचार, कार्यनीति, रणनीति र नेतृत्वमा कुनै समस्या नभएको उनले बताए । उनले थपे, “एमालेमा अहिले कुनै पनि फरक मत छैन । जबजलाई समयानुकूल विकसित गर्दै लैजाने कुरामा हामी सँगसँगै छौं । केपी शर्मा ओली हाम्रो अध्यक्ष हो, आगामी महाधिवेशनबाट आउने पनि उहाँ नै हो, आगामी चुनावमा पनि हामी उहाँकै नेतृत्वमा जान्छौं । अब विचार, कार्यनीति, रणनीति र नेतृत्वमा कुनै समस्या छैन । यो एकताबद्ध पार्टी हो, यो गुट र मोर्चा होइन । केन्द्रीय संसद्मा पनि एमाले ठूलो दल हो । प्रदेशहरूमा पनि एमाले नै ठूलो दल हो । बहुसंख्यक स्थानीय निकायहरुमा एमालेकै नेतृत्व छ ।”

सरकारले एमाले विधान महाधिवेशनको मुखमा राजनीतिक पूर्वाग्रह साँधेको आरोप पनि उनले लगाए । नेकपा एमालेको विधान महाधिवेशन हुँदै छ भन्ने थाहा पाएर पनि सभा सम्मेलन गर्न नपाउने सार्वजनिक सूचना गरेको उनको भनाइ छ । अहिलेको सरकार र संसद् चल्न नसक्ने देखेरै एमालेले ‘अर्ली इलेक्सन’को माग गरेको पनि उनले बताए ।

एमाले नेता भट्टराईले प्रधानमन्त्री शरबहादुर देउवा बूढानीलकण्ठबाट बालुवाटार आएर सुतेर बसेको, संसद् र सरकारलाई षड्यन्त्र गर्ने स्थल बनाएको आरोप पनि लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot