Logo

ओलीजीलाई त संसद् देख्नै नहुनीः चित्रबहादुर केसी



काठमाडौं, असोज १५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फेरि पनि संसद् विघटन गर्नका लागि नेकपा एमालेले तानाबाना बुनिरहेको आरोप लगाएका छन् । संसद् अवरुद्ध गरेर एमालेले हलो अड्काएर गोरु चुट्न खोजेको पनि उनले बताए ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “एमाले अध्यक्ष केपी शर्मा ओलीजीले दुई चोटि प्रतिनिधिसभा भत्काउनुभयो । हामीले पुनःस्थापना गरेपछि पनि भत्काउनका लागि सांसदहरुलाई उफारिरहनुभएको छ । ओलीजीलाई त संसद् देख्नै नहुनी रहेछ । ओलीजीले सत्ताबाट हट्नुपरेको पिरलो र बदलाको भावनाले संसद्लाई अनिर्णयको बन्दी बनाइरहनुभएको छ । उहाँ संसद्लाई फेरि पनि भत्काउन लाख कोसिस गरिरहनुभएको छ ।

नेता केसीले ओलीले देशलाई रमिता बनाउन खोजेको आरोप पनि लगाए । उनले थपे, “ओलीले संविधानमा नै नभएको व्यवस्था अनुसार संसद् भत्काउनुभयो । अरु देशको कानुनको कुरा जिद्दी र ढिपी गरेर हुन्छ ? संसद्को आयु अझै एकाध वर्ष छ । कोभिडका बेला मुलुकलाई जबर्जस्ती चुनावमा धकेल्नै हुन्न । त्यो रमिता त देखाउने कुरा मात्रै हुन्छ ।”

कार्यक्रममा नेता केसीले एमसीसी खारेज हुनुपर्ने स्पष्ट पारे । उनले भने, “एमसीसी अमेरिकी साम्राज्यवादको षडयन्त्र हो । पहिले ओलीले सकेनन्, अहिले देउवाले कोसिस गरिरहेका छन् । तर यो नेपाली जनतालाई मान्य छैन । दान दिने मान्छे लौरो लिएर किन नेताको घरघरमा धाए ? यो जून-घामझैं छर्लंग छ । अमेरिकाले एमसीसीलाई खाए खा नखाए घिच् किन भनिरहेको छ ?”

कांग्रेसले एमसीसी पास गर्ने एजेन्डा ल्याउँदा आफूहरुले न्यूनतम साझा कार्यक्रममा राख्न नदिएको पनि केसीले बताए । उनले भने, “त्यो ल्याउनै हुन्न संसद्मा । यहाँ विदेशी साम्राज्यवादीको एजेन्टका रुपमा काम गर्ने मान्छेहरु छन् । त्यस्तो दुस्साहस गरे उनीहरुको पनि राजनीति सकिन्छ । एमसीसी नेपालीको टिठले आउन खोजेको हो कि चीन विरोधी अखडा बनाउनका लागि ? श्रीलंकाका जनताले जस्तै एमसीसीलाई खोटो मोहरझैं फर्काइदिनुपर्छ । यो चित्रबहादुर खत्रीको माग होइन, नेपाली जनताको माग हो ।”

सत्ता गठबन्धनका दलहरुभित्रकै कचिंगलले मन्त्रिपरिषद् विस्तार हुन नसकेको उनले बताए । केसीले भने, “हामी सरकारमा छैनौं, प्रतिपक्ष हौं । हामीले त जसपा र एकीकृत समाजवादीमा कचिंगल भए पनि कांग्रेस र माओवादी मिलेर एक दर्जन मन्त्री बनाउन सक्छौ, फर्मेसन गर भनेकै हो । तर नेपाली प्रवृत्ति के रहेछ भने सबैलाई मन्त्री बन्नैपर्ने, त्यसमाथि मालदार मन्त्रालय नै चाहिने । देशको भन्दा व्यक्तिको स्वार्थमा चुर्लुम्म डुब्ने । यो कुरा त बारीमा कौवा पस्यो, कौवा पसेपछि मकै खायो भनेजस्तै हो । सत्ता र शक्तिका लागि मरिहत्ते गर्ने प्रवृत्तिको सिकार नेपाली जनता भएका छन् । यो तरिका बेठीक हो ।”



प्रतिक्रिया दिनुहोस्