दशैंको मुखमा को को बन्लान् मन्त्री ?


काठमाडौं, १५ असोज । आज या भोलि भन्दा भन्दै मन्त्रिपरिषद विस्तारमा फेरि अन्यौल देखिएको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरुले भोलि नै मन्त्रिपरिषद विस्तार हुन्छ भनेको एक हप्ता बितिसकेको छ । तर, अझै टुंगो लागेको छैन ।

मन्त्रिपरिषद विस्तार नहुनुमा सत्ता गठबन्धनभित्रै मन्त्री बन्नेको टुंगो नलाग्नु कारण देखिएको छ । नेपाली काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्री बन्नेको नाम चयन गर्न सकेको छैन । २ मन्त्री पाएको उक्त समूहमा सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिलेन्द्र बडु र राजन केसीमध्येबाट मन्त्री बन्ने सम्भावना बलियो छ । तर, दुईजना छान्न मुश्किल परेको छ ।

कृष्णप्रसाद सिटौला समूहले १ जना मन्त्री पाएको छ । उनको समूहबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधान मध्येबाट एकजना मन्त्री बन्ने पक्का छ ।

माओवादी केन्द्रबाट मन्त्री बन्नेको अन्तिम टुंगो लागेको छैन । प्रचण्डले मन्त्रीका दाबेदार धेरै देखिएपछि सार्वजनिक रुपमै असन्तुष्टि पोखेका छन् । मन्त्रीको दौडमा हरिबोल गजुरेल, देवेन्द्र पौडेललगायत छन् । नाम टुंगो लगाउन प्रचण्डलाई मुश्किल परेको छ ।

नेकपा एसबाट मन्त्री बन्नेको नाम लगभग टुंगो लागेको छ । भवानी खापुङ, विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले मन्त्री बन्ने निश्चितप्रायः छ । तर, मेटमणि चौधरी पयटनमन्त्रीको दाबी गरिरहेका छन् । चौधरीलाई अरु जिम्मेवारी दिएर व्यवस्थापन गर्ने माधव नेपालको तयारी बुझिएको छ ।

जसपाबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, अमृता अग्रहरी, रेनु कुमारी चौधरीको मन्त्री बन्ने सम्भावना बलियो छ ।

दलहरुले मन्त्रीको नाम लगभग टुंगाएपनि आन्तरिक व्यवस्थापनमा चुनौती बढेकाले ढिलाई भएको छ । अब दशैंको ठिक अगाडि मात्र मन्त्रिपरिषद विस्तार हुने सम्भावना देखिएको छ ।