Logo

अर्ली–ईलेक्शनको सम्भावनालाई ईन्कार गर्न सकिँदैन : चित्रबहादुर केसी (भिडिओसहित)



राष्ट्रिय जनमोर्चाकाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुकमा अर्ली–ईलेक्शनको सम्भावनालाई ईन्कार गर्न नसकिने बताएका छन् । केसीले सरकारलाई पूर्णता दिने सवालमा ढिलाई भएको स्किारेका छन् । तर, अब एक/दुई दिनभित्र सरकारले पूर्णता पाउने उनको दाबी छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसी कुनैपनि हालतमा संसद्बाट अनुमोदन गर्न नहुने पनि जिकिर गरे । प्रस्तुत छ अध्यक्ष केसीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंहरुले समर्थन गरेर सरकार बनाउनुभयो, बैठक मात्र बस्नुहुन्छ तर अहिलेसम्म मन्त्रिपरिषद विस्तार हुन सकेन, किन यस्तो भयो ?

मैले गठबन्धनको पहिलो बैठकमा काँगे्रस र माओवादीमात्र भएर पनि तिमीहरुले एक दर्जन मन्त्री बनाउन सक्छौ, तिमीहरुले सरकार फर्मेसन गर भनेर मैले सुरुमै भनेको हो । अरुतिर कचिङ्गल भएपनि एमाले, समाजवादी र जसपामा समस्या भएपनि मुद्दा मामिलाले रोकिदिए पनि कमसेकम दुई वटा दलले एक दर्जन मन्त्री त बनाउन सकिन्छ । त्यो गरिहाल्न पर्यो भनेको अब कति मान्छे मन्त्री बन्नलाई लालाहित छन् । २० प्रतिशतले पनि छेक्यो होला, अब बन्छ होला ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज ७८ दिन भइसक्यो, अब हुन्छ भन्दाभन्दै कति दिन जनतालाई ठग्नुहुन्छ ?

कुन कारणले बारीमा कौवा पस्यो, कौवा पसेपछि मकै खायो भन्नु न । झण्डै दुई तिहाईकै सरकार थियो नि । त्यो सरकारले प्रतिगमनको बाटो समातेपछि मुलुकले यस्तो व्यहोर्नुपर्यो । त्यो त सबैलाई थाहा छ नि ।

तर, शेरबहादुर देउवाले पनि केही गर्न सक्नुभएन नि होइन् ?

हामीलाई त्यो जानकारी थियो । तर, पनि पार्टीभित्रका सत्ता र शक्तिका लागि मरिहत्ते गर्ने नेपाली जो प्रवृत्ति हो । त्यही प्रवृत्तिको सिकार अहिले नेपाली जनता भएका छन् । अहिले जनताले भोगिरहेका छन् । यसको छिट्टै समाधान हुनुपर्छ । अब चाहीँ सरकार दिनुपर्छ ।

प्रधानमन्त्री देउवाले अब केपी शर्मा ओलीसँग सम्वाद गरेर अघि बढ्छु भन्नुभएको छ, तपाईंहरु के गर्नुहुन्छ ?

होईन, प्रधानमन्त्रीले सम्वाद गर्ने, छिट्टै मन्त्रिमण्डल विस्तार गर्ने अनि सरकारमा सामेल हुने नीति भएकाहरुले मन्त्रीहरुको नाम दिएर मद्दत गर्ने हो, यसरी खाली राखेर हुँदै भएन । यो बेठीक भयो । नेपाली प्रवृत्ति त अहिलेपनि देखियो । अब धेरै मान्छेलाई मन्त्री हुन पर्ने, मालदार मन्त्रालय चाहिने । राष्ट्र र जनताको सेवाभन्दा आफ्नो र गुटगत स्वार्थजस्ता धेरै चिजले काम गर्यो । यस्तो काम नेपाली जनतालाई मान्य हुन्न । त्यहीपनि अब यो बाध्यताको उपज हो । छिट्टै सरकार निर्माण गर्नुपर्छ ।

एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ, अहिले सरकारले एमालेसँग वार्ता गर्नको लागि पहल गरेको छ, तपाईँको प्रतिक्रिया के छ ?

सत्तापक्षले प्रतिपक्षसँग वार्ता गर्नत पर्छ । प्रतिपक्षले पनि हलो अड्काएर गोरु चुटिरहन त हुँदैन । उहाँहरुले पनि त रजाँई गरेको नेपाली जनताले देखेकै हुन् । त्यसकारण आफैँले नजानेर त यो स्थिति निर्माण भयो । अनि अहिले प्रतिपक्षमा बस्नुपर्यो भनेर संसद् चल्नै नदिने, मुलुकलाई बन्दी बनाउने यो क्रियाकलापलाई नेपाली जनताले राम्रो मानेका छैनन् ।

संसद् खुल्न सकेको छैन्, एमालले सर्वदलीय बैठकपनि बहिस्कार गरिरहेको छ, अब कसरी डेडलक हट्छ ?

होईन, प्रतिपक्षले हिजो सत्तामा हुँदा संसद् देख्नै नरुचाउने भएको हुनाले अहिले पनि उहाँले जुनसुकै हत्कण्डा अपनाएर पनि मुलुकलाई चुनावमा लैजाने र फेरी अर्काथरी सत्ता र शक्तिको भाग नपुगेकाहरुलाई जिताए ल्याएर फेरी त्यही रमिता बनाउने कुरा हो । अब आवधिक चुनाव त हुनैपर्छ । त्यसकारणले अहिले भर्खरै संसद् विघटन गरेर देशलाई चुनावमा धकेल्ने खेल भइरहेको छ । त्यसकारणले यसलाई अहिले अगाडी बढाउनु हुँदैन् । संसद् चल्नुपर्छ । राजनीतिमा बदलाको भावना लिएर संसद्लाई बन्दी बनाउन प्रतिपक्षले पनि पाउदैन् ।

माधवकुमार नेपाललगायत १४ जना सांसदलाई सभामुखले कारबाही गर्नुपर्यो नि त ?

ओलीले जे खोज्नुहुन्छ, त्यही सर्वोच्चले गर्ने भए उहाँहरुले नेपाली जनताको आखाँमा पानी छम्किएर रजार्इँ गर्न पाउनुहुन्थ्यो त्यो त मिलेन नि । जनताले विश्वास गरेका बेलामा जनताको विश्वासलाई खत्तम पारेपछि अहिले पनि पुरानो अन्तराष्ट्रिय परम्पराअनुसार प्रधानमन्त्रीले संसद भत्काउन पाउँछ भनेर जिद्दी गरेर संविधानमै नभएको व्यवस्थालाई बल गरेर मुलुकलाई बन्दी बनाउन पाइन्छ ?

तपाईंहरुले पनि त अहिलेसम्म केही गर्न सक्नुभएन ? न संसद् चलाउन सक्नुभयो, न सरकार चलाउन सक्यो, न जनताको समस्या समाधान गर्नसक्यो, न एमसीसीमा सहमति गर्न सक्नुभयो, सरकारले पनि त केही गर्न सकेन नि ?

तपाईंको माग एमसीसी पारित हुनर्दथ्यो भन्ने हो ?

होइन्, मेरो होइन् तपाईंको भनाई बुझ्न खोजेको मैले, एमसीसीमा तपाईंको धारणा के हो ?

एमसीसी नेपालमा कुनै पनि हालतमा उपयुक्त छैन् । अमेरिकी साम्राज्यवादको षड्यन्त्र हो भनेर सबैले बुझेको छन् । ओलीजीले बल गर्नुभएको थियो, सक्नुभएन । शेरबहादुरजीले पनि कोशिस गर्नुभएको छ । नेपाली जनताको लागी एमसीसी मान्य छैन् । एमसीसी खारेज हुनुपर्छ ।

एमसीसी पारित गराउन प्रधानमन्त्री लाग्नुभएको छ ?

त्यसो त ओलीजी पनि लाग्नुभएको थियो नि । नेपाली जनातले मान्नुपर्यो नि । नेपाली जनातको हितको लागि हो भने एमसीसीका कर्मचारी आएर नेताका घर–घरमा गएर लौरो लाउन पर्यो । सहयोग गर्ने मान्छेले हाम्रो सहयोग लिइदिन पर्यो भनेर लौरो लाउन पर्छ ? उनीहरुले जुन हर्कत गरेका छन् त्यो नेपाली जनताले बुझेका छन् ।

त्यसो भए एमसीसी पारित हुँदैन भन्ने तपाईंको भनाई हो ?

नेपाली जनताको भनाई हो, चित्रबहादुरको भनाई होइन् ।

तर, सरकार त एमसीसीको पक्षमा छ, तपाईं के गर्नुहुन्छ ?

होईन, उहाँहरुले त भन्नुहुन्छ । उहाँहरुले निजीकरण गराउनु भयो । मुलुकका राष्ट्रिय उद्योग धन्दा, कल कारखाना सबै सखाप बनाउनु भयो । लाखौ नेपालीहरुलाई विदेश पठाउनु भयो । उहाँहरुको धन्दा त हामीलाई थाहा छ नि । त्यसो भएकोले विदेशी साम्राज्यवादीहरुका एजेण्डा लागु गरेर देशमा रजाइ गर्ने होइन । नेपालको राष्ट्रियता, अखण्डता र जनताको स्वार्थलाई प्रतिनिधीत्व गरेर शासन गर्ने हो । यो जुन किसिमको विदेशीका एजेन्टहरु नेपालका शासक र प्रशासकहरु छन्, यो कुरा नेपाली जनतालाई अब मान्य हुँदैन । त्यतिबेला हेनुहोला हाम्रो पार्टीले के गर्छ ।

एमसीसी पारित भयो भने राष्ट्रिय जनमोर्चाले के गर्छ ?

अहिलेपनि नेपाली जनताले ठुलो संख्यामा यसको विरोध गरिरहेका छन् । आजको नेपाली जनता लाटा छैनन् । जसले यो पारित गर्छ, त्यसको राजनीति सिद्दिन्छ । हाम्रो पार्टीले कुनैपनि हालतमा पास हुनुहुँदैन, श्रीलंकाका जनताले फर्काइदिएको जस्तै फर्काउनुपर्छ । नेपाली जनतासँग त्यो क्षमता छ ।

तर, अमेरिकाले दिएको यत्ति ठुलो अनुदान हामीले खेर फाल्नुहुँदैन भनेर प्रधानमन्त्रीले भनिरहनुभएको छ ?

राष्ट्रको अरबौं पैसा भ्रष्टाचार गरेर राष्ट्रलाई स्वाहाः पार्ने, अनि साम्राज्यवादीले आफ्नो योजना पुरा गर्न ल्याएका प्रोजेक्ट उहाँहरुलाई स्विकार्य छ नि । उहाँहरुलाई स्विकार्य होला । तर, नेपाली जनतालाई स्विकार्य छैन् ।

शेरबहादुर देउवाले संसद्मा टेबुल गर्नुभयो भने तपाईंको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्छ ?

पहिला त्यो सर्वदलीय बैठकमा कुरा भएको थियो । न्यूनतम कार्यक्रममा नराख्ने सल्लाह भएरै नराखिएको हो नि त । त्यसकारण पहिला संसद्मा ल्याउन दिनुहोस न ।

अब देशमा अर्ली–इलेक्सनको सम्भावना बढेको हो ?

त्यो सम्भावनालाई ईन्कार गर्न सकिँदैन । ओलीजीलाई संसद् देख्नै नहुने, भत्काइरहनु हुन्छ । फेरिपनि त्यही प्रयास गर्दै हुनुहुन्छ । त्यसकारणले केहीगरि देश निर्वाचनमा गयो भने नेपाली जनताले त्यसलाई सामना गर्नैपर्छ । उपाय केही छैन् ।

त्यसोभए निर्वाचनको लागि जनमोर्चा तयार छ ?

होईन, अहिले मुलुकलाई निर्वाचनमा धकेल्नै हुँदैन् । अहिले कोभिडको उपचार गर्ने हो । नेपाली जनताका अनेकन समस्या रहेका छन्, अब प्रतिपक्षले जुनखालको नीति अपनाएको छ । अब भर्खरै चुनावको घोषणा गरेर चुनावमा जाने कुरा भएन । तर, आवधिक चुनावको समयमा त चुनाव गर्नैपर्छ । हाम्रो माग त्यही हो ।



प्रतिक्रिया दिनुहोस्