प्रतिक्रियावादीहरुले हेप्न थालेको भन्दै प्रचण्डले भने–‘जनयुद्धको खोजी गर्नुपर्ने बेला आयो’


काठमाडौं, १५ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान उल्टाउने षड्यन्त्रलाई परास्त गरेर अघि बढेको बताएका छन् । उनले जनताको सहयोग र समर्थनले प्रतिगमन परास्त भएको पनि स्पष्ट पारेका छन् । उनले जनयुद्धको भावनालाई सम्मान गर्दै समिक्षा गरिनुपर्नेमा जोड दिए ।

प्रगतिवादी कवि, गीतकार तथा संगितकार दिलीपकुमार श्रेष्ठ ‘कोरस’ रचित सपनाको पाण्डुलिपि विमोचन कार्यक्रममा उनले एमालेसँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको उल्लेख गरे । उनले यो ज्ञान प्राप्त भनेको आफूले गल्ती गरेको भनेर आत्मसमिक्षा गरेको सुनाए । उनले पूर्व माओवादीहरु एक ठाउँमा हुनुपर्ने पनि बताए । उनले प्रतिक्रियावादीहरुले हेप्न थालेको भन्दै जनयुद्धको खोजी गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘यो प्रतिक्रियावादीहरुले यसरी नै हेप्ने हो, र घेरा हालेर सखाप पार्ने हो भने लाखौं जनता लिएर सडकमा हामी उत्रिने हो भने अहिले पनि यस्ता दलाल पुँजीपतिका प्रणाली ध्वस्त पारिदिन सकिन्छ, यिनीहरुले बनाएको शासकीय स्वरुपलाई फेरिदिन सकिन्छ, हामीले हाम्रो वर्ग, समूदायलाई धेरै माथि पुर्याउन सकिन्छ । हामीले गर्न सकिने धेरै छ ।’

उनले अहिलेपनि हिजोका जनयुद्धका सारथीहरुले आत्मसात् गर्न तयार हुने हो भने समाजवादप्रति ईमानदार भएर कार्यक्रम बनाएर लाग्ने हो भने मुख्य शक्तिको रुपमा अगाडि बढ्ने सम्भावना रहेको दाबी गरे । उनल आफूहरुको आन्दोलनलाई बाहिरकाले बिगार्न खोजेकै हो भने स्विकारे । उनले आफूहरुले जितेको जितेको जस्तो र नजितेको नजितेको जस्तो अवस्थामा रहेको सुनाए ।

Photo By: Mukunda Kalikote/ReportersNepal