Logo

अहिले केपी ओलीको विकल्प खोज्नु भनेको नेकपा (एमाले) लाई फुटाउन खोज्नु हो : रिजाल



नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले पार्टीमा अहिले अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । अहिले अध्यक्ष ओलीको विकल्प खोज्नु भनेको फुटाउन खोज्नु हुने पनि टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पार्टीमा असहज स्थिति रहेको सुनाए । उनले अब मुलुकमा अब निर्वाचनको विकल्प नभएको पनि बताए । प्रस्तुत छ नेता रिजालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा (एमाले)को विधान महाधिवेशन हेर्दा केपी शर्मा ओलीलाई शक्तिशाली बनाउने मार्गचित्र बाहिर आयो, तपाईंहरुले केपी शर्मा ओलीलाई बलियो बनाउने कि पार्टीलाईं ?

हामी नेकपा (एमाले) लाई मजबुद बनाउन चाहान्छौं । अहिले पार्टीमा जनु संकट आएको छ, यसबाट पार्टीलाई पार लगाउनको लागी केपी शर्मा ओलीको नेतृत्वमा नेकपा (एमाले) लाई एकताबद्ध, अनुशासित र जुझारू ढंगले अगाडि बढाउन चाहान्छौं ।

उसोभए, विधान महाधिवेशनमा केपी शर्मा आलीलाई भावी अध्यक्ष र प्रधानमन्त्री बनाउने काम हुन्छ ?

विधान महाधिवेशनले भावी अध्यक्ष र प्रधानमन्त्री बनाउने काम गर्दैन् । अहिले उहाँले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्ने हो । बाँकी कुरा पार्टी अध्यक्षको कुरा १०औं राष्ट्रिय महाधिवेशनबाट निर्णय हुन्छ । प्रधानमन्त्रीको कुरा आगामी निर्वाचनपछि मात्र टुँगो लाग्छ ।

राष्ट्रिय महाधिवेशनमार्फत केपी शर्मा ओलीलाई पूर्ण अध्यक्ष बनाएर आगामी चुनावमा भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने रणनीति तपाईंहरुको हो ?

हामीले यसबारेमा कुनै निर्णय त गरेका छैनौं । तर, म व्यक्तिगत ढंगले एउटा कुरा भन्न चाहान्छु । नेपालको राजनीति जुन दुई पोलमा विभाजित भएको छ । एउटा पोलमा सबै राजनीतिक दल र त्यसका नेताहरु हुनुहुन्छ भने एउटा पोलमा केपी शर्मा ओली हुनुहुन्छ । अर्थात् आजको राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) एकातिर छ र अर्कोतिर सबै दलहरु छन् । नेकपा (एमाले) को नेतृत्व अहिले केपी शर्मा आलीले गर्नुभएको छ । यो बेलामा नेकपा (एमाले) लाई एकताबद्ध र जुझारु ढंगले सक्रियतापूर्वक अगाडि बढाउनको लागि केपी शर्मा ओलीको विकल्प कसैले पनि सोचेको छैन् । हाम्रो पार्टीमा अहिले देखिएका समस्यालाई कसरी अगाडी बढाउने भन्ने कुराको समाधान गर्नको लागि पनि केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको छ ।

त्यसोभए केपी शर्मा ओलीको विकल्प नेकपा (एमाले) मा छैन् ?

आजको दिनमा यो कुरा सोच्नपनि सकिँदैन् ।

अब तपाईंहरु जस्ता युवापुस्तालाई बत्ती बालेर खोज्नुपर्ने भयो ?

होइन, हामी त अगाडि नै बसेका छौ । बत्ती बालेर खोज्नुपर्दैन् । हाम्रो सहभागिता राम्रै छ । मैले किन विकल्प छैन् भनिरहेको छु भने पार्टी एकीकृत भएको भए आफ्नो गतिमा अगाडी बढेको भए हामीसँग पर्याप्त विकल्पहरु थिए । हामीले नेताहरुको बीचमा छनौटको रोजाई पनि पाउने थियौं । तर, आज जुन असहज अवस्था आएको छ । यो अवस्थामा नेतृत्वले असाधारण ढंगले काम गर्नुपर्ने अवस्था छ । त्यसैले मैले कुनै अर्को नेताको मानमर्दन गर्न खोजेको होइन तर, अहिलेको अवस्थामा सबैले मान्ने नेता नेकपा (एमाले) मा अरु कोही पनि छैन्–केपी शर्मा ओलीको विकल्प छैन् । त्यो खोज्नु भनेको नेकपा (एमाले) लाई फुटाउन खोज्नु हो ।

नेकपा (एमाले) को विधान महाधिवेशन केपी शर्मा ओलीमय भएको छ । होर्डिङ बोर्डदेखि पानीको बोतलसम्ममा ओलीकै तस्विरहरु राख्नुपर्ने आवश्यकत्ता थियो त ?

म एउटा कुरा निवेदन गर्न चाहान्छु, अहिले नेकपा (एमाले) को विधान महाधिवेशन भैरहेको छ । अनि पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । त्यसैले नेकपा (एमाले) को विधान महाधिवेशन प्रचण्डमय, शेरबहादुर देउवामय वा मोहन बिक्रम सिहंमय हुँदैन केपी शर्मा ओलीमय नै हुन्छ ।

तपाईंहरु केपी शर्मा ओलीको कति चाकडी गर्नुहुन्छ है ?

यसलाई चाकडी भनिँदैन् । किनभने उहाँले अहिले हाम्रो नेतृत्व गर्नुभएको छ । उहाँले विधान महाधिवेशनको उद्घाटन गर्नु, नेता कार्यकर्ताहरुले उहाँसँग तस्विर खिचाउन खोज्नु कसरी चाकडी हुन्छ ?

अब नेकपा (एमाले) को नीति जबज नै हुने भयो ?

नेकपाको नीति स्पष्ट ढंगले जबज रहँदै आएको छ । हामीले यसलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त र मार्गदर्शन सिद्धान्तको रुपमा स्विकार गरेका छौं । ५औं महाधिवेशनमा हामीले कार्यक्रमको रुपमा अघि सार्यौं । छैटौं र सातौं महाधिवेशनमा हामीले नेपाली क्रान्त्रिको सिद्धान्त र मार्गदर्शन सिद्धान्तको रुपमा अघि सारेका छौं । यो विधान महाधिवेशनमा पनि प्रस्तुत गरिएका दस्तावेजहरुले पनि त्यो कुरालाई अत्यन्त गम्भिरता र उत्साहका साथ उठाएका छन् । उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको बिधान संशोधनको प्रस्तावना र त्यसको व्याख्या गर्ने क्रममा उहाँले जुन जबजको व्याख्या र यसको पुनः पुष्टिका तर्कहरु अगाडि सार्नुभएको छ, आजको हाम्रो कार्यदिशा त्यही नै हो ।

नेकपा (एमाले) चीनमुखी भएको हो ?

हामी यो कुरा मान्दैनौं । किनभने, हामी दुईवटै हाम्रा विशाल छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध, सार्वभौमिक समानताका आधारमा राख्न चाहान्छौं । हामी कुनैपनि देशका विरुद्ध र कुनैपनि देशका पक्षमा उभिने शक्ति होइनौं । हामी नेपालको पक्षमा उभिन्छौं । नेपालको हितमामात्रै हामी विदेशी देशहरुसँग सम्बन्ध राख्न चाहान्छौँ । हामी कसैसँग लडाइ र कसैसँग युद्ध गर्न गइरहेका छैनौं । हामी सबैको सम्मान गर्छौं । साथै, हामी पनि हाम्रा दुवै छिमेकी मुलुक भारत र चीनसँग त्यही चाहान्छौं ।

केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा चीनको प्रशंसा गरेर भारत र अमेरिकाको आलोचना गर्नुभएको छ, तपाईंले हेनुभएको छैन् ?
भारत र अमेरिकाको एक ठाउँमा पनि विरोध छैन् । हो, हाम्रा केही मुद्धाहरुमा हामीमाथि जुन थिचोमिचो हुन्छ, हामीमाथि असमानता हुन्छ, त्यसको हामी विरोध गर्छौं । जस्तो, भारतले हाम्रो सीमा मिच्यो, भारतले हामीमाथि नाकाबन्दी लगायो भन्नु विरोध हो र ?

उहाँले चीनप्रति अविचलित रहने लेख्नुभएको छ नि ?

त्यो शब्द नै छैन् ।

किन छैन्, म तपाईंलाई पढेर सुनाउँ ?

म बताउँछु, हाम्रो दस्तावेज मलाई नै भन्न दिनुहोस । हामी एक चीन नितिप्रति प्रतिबद्ध छौं भन्ने कुरा केपी शर्मा ओलीले उल्लेख गर्नुभएको छ । त्यो कुरा नेकपा (एमाले) को मात्र नीति होइन् । नेपाल राष्ट्रको साझ नीति हो । दोस्रो कुरा चिनियाँ नीतिले यो ४० वर्षको बीचमा ८० करोड जनतालाई जसरी गरिबीको रेखामुनिबाट बाहिर निकाल्यो । २०२०मा राष्ट्रपति सी जिनफिङले जसरी गरिबमुक्त देश घोषणा गर्नुभयो । २०४९ सम्म मध्यम आयको समाजवादी राष्ट्र बनाउने घोषणा जुन उहाँले गर्नुभएको छ, यो सकारात्मक र प्रशंसायोग्य छ । यसबाट हामीले सिक्नुपर्छ भन्ने कुरा उल्लेख गर्नुभएको छ । यसोभन्दा चीनुमुखी कसरी हुन्छ ?

प्रतिवेदनमा अमेरिका र एमसीसीप्रति कटाक्ष गर्नुभएको त छ नि ?

नेपाल असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्छ । असंलग्न परराष्ट्र नीतिले कुनैपनि प्रकारका सैन्य गठबन्धनहरुलाई समर्थन गर्दैन् । आईपीएस, क्वाड भन्नुहोस यी सबै सैनिक गठबन्धनका नियतले आएका विषयहरुप्रति नेपाल राष्ट्रकै सहमति छैन् । नेकपा (एमाले) त एउटा क्रान्तिकारी र कम्युनिष्ट पार्टी हो । तर, हामीले तपाईंले उल्लेख गरेको एमसीसीको विरोध पनि गरेका छैनौं । चर्चा पनि गरेका छैनौं ।

तपाईंहरु समाजवादतिर किन जान चाहनुभएन ?

समाजवाद भन्ने कुरा हामीले हठात् ढंगले एउटा निर्णय गरेर उत्तरी संरचनामा घोषणा गरेर लागु हुने विषय होइन् । समाजवादका आ–आफ्ना मोडेल छन् । आज कम्युनिष्ट पार्टीको स्थापनाको १०० वर्ष र चीनमा कम्युनिष्ट आन्दोलन स्थापना भएको ७२ वर्षमा पनि चीनले आफुलाई समाजवादी भइसकेको घोषणा गरेको छैन् । २०४९ सम्ममात्र समाजवादी राष्ट्र भइन्छ भनेर चीनले घोषणा गरेको छ । रुसमा ७२ वर्षसम्म कम्युनिष्ट पार्टीले शासन गर्दापनि समाजवाद स्थापना गर्यौं भन्नसक्ने स्थिति बनेन । समाजवादी राष्ट्र भनियो तर, समाजवादमा चाहिँने कम्पोनेन्टहरु पुरा हुन सकेन भने राम्रो हुँदैन । त्यसैले, हामीले समाजवादउन्मुख कार्यदिशा तयार पारेका छौं । हामीले पुँजीवादी जनवादी क्रान्ति एकप्रकारले सम्पन्न गरेका छौं र त्यो पुँजीवादी क्रान्ति पनि कस्तो भयो भन्दा न चीनको जस्तो भयो न रुसको जस्तो भयो । त्यसैले हामीले पहिले शिक्षा, स्वास्थ्य र रोजगारमा आधार तयार गरेर मात्र अघि बढ्नुपर्छ । निरन्तर ढंगले समाजवादमा जाने कार्यदिशा नै आजको हाम्रो प्रमुख कार्यदिशा हो भन्ने कुरा हामीले किटान गरेका छौं ।

तपाईंहरुले नेपाली काँग्रेसलाई प्रतिष्पर्धी, दलाल र पुँजिवादी भन्नुभएको छ, किन यसो भन्नुभयो ?

पुरानो दस्तावेजहरु हेर्नुभयो भने, कम्युनिष्ट पार्टीमा केही थेगोहरु प्रयोग हुन्थे । हामीले नेपाली काँगे्रसलाई त्यस ढंगले आक्रमण गरेका छैनौं । हामी नेपाली काँगे्रसलाई निषेध गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दैनौं । हाम्रो प्रतिस्पर्धी नेपाली काँगे्रस नै हो । तर, इतिहास हेर्दा गण्डक र कोशी सम्झौंता त्यसैगरी टनकपुर सन्धी एउटा राजनीतिक पार्टी देशको घाँटी थिच्नेगरी अमानवीय ढंगले अन्तर्राष्ट्रिय कानूनविपरित काम गर्ने । नाकाबन्दी लगाइँदा पनि नाकाबन्दी भनेर बोल्न सक्दैन भने त्यो पार्टीलाई कसरी राम्रो भन्ने ?

राजनीतिक प्रतिवेदनमा माओवादीलाई पनि आक्रामक रुपमा प्रस्तुत गराउनुभएको छ नी, होईन ?

हाम्रा अन्तरविरोधहरु दुई प्रकारका छन् । पहिलो अन्तरविरोध हामीले पार्टी एकता गरेर किन पार्टी एकता भंग भयो भन्नेबारेमा पार्टीका नेता÷कार्यकर्ताहरुलाई भन्नुपर्नेछ । दोस्रो भनेको माओवादीसँग सैद्धान्तिक ढंगले हिजोदेखि नै हाम्रा जुन असहमतिहरु छन्, ती कुरालाई हामीले एउटा उचार्इँबाट भन्नुपर्नेछ । त्यसकारणले प्रचण्डको वा माओवादीको चर्चा हुनु स्वभाविक हो । किनभने हामीले जुन अपेक्षाका साथ एकता गरेका थियौं, त्यसलाई उहाँले एउटा दाउपेच र खेलको रुपमा प्रयोग गर्नुभयो । त्यसको चर्चा त हामीले गर्नैपर्छ ।

मधेशवादी दलहरुमाथि पनि नकारात्मक देखिनुभयो नि तपाईंहरु ?

मधेशआधारित पार्टीले जुन ढंगले मुद्दाहरु उठाएका छन्, उनीहरुका मुद्दाप्रति हाम्रो समर्थन छैन् । बेला–बेलामा जसरी उनीहरुले नेपाल र नेपालको राष्ट्रियतालाई नै असर गर्नेगरि मागहरु उठाउने गरेका छन्, त्यसप्रति हाम्रो समर्थन छैन् भनेका हौ । र, हामीले आफ्नो राजनीति दृष्टिकोण स्पष्ट गरेका हौं ।

केपी शर्मा ओलीको चाहाना भनेको अब देशमा निर्वाचन नै हो ?

हामी त निर्वाचनको विकल्प पहिले पनि देखेको होइनौं, किनभने आज ८० दिन काटिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन् । आफ्नो व्यापारिक साझेदारहरुलाई महत्वपूर्ण ठाउँहरुमा नियुक्त गर्ने काममात्र गरेको छ । त्यसैले, अहिले पनि निर्वाचनको विकल्प छैन् ।



प्रतिक्रिया दिनुहोस्