एमाले विधान महाधिवेशनः व्यक्तिभन्दा विधिलाई प्राथमिकता दिन सुझाव


काठमाडौं, असोज १७ । नेपाल कम्युनिस्ट पार्टी एमालेको जारी प्रथम विधान महाधिवशेनमा प्रतिनिधिहरूले व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्ने सुझाव दिएका छन् । पार्टीलाई भन्दा व्यक्तिलाई स्थापित गर्ने नीति गलत भएको टिप्पणी गर्दै प्रतिनिधिले पार्टी सञ्चालन संस्थागत रुपमा हुनुपर्ने सुझाव अघि सारेका छन् ।

महाधिवेशनमा शनिबार प्रदेश–१ को टोली नेता भानुभक्त ढकालले पार्टीभित्र व्यक्ति नभई पार्टी र नीति स्थापित हुनुपर्ने धारणा राखे। यसै गरी, लुम्बिनी प्रदेशका तर्फबाट सुझावहरू प्रस्तुत गर्दै अध्यक्ष लीला गिरीले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अझ समृद्ध बनाउनुपर्ने, कार्यकर्तालाई उत्पादन प्रणालीमा जोड्दै आर्थिक उपार्जनमा लगाउनुपर्ने, निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउनुपर्ने सुझाव राख ।

उहाँले राजकीय पदमा बाहेक एक व्यक्ति, एक पदको नीति लागू गर्नुपर्ने, दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति पदाधिकारीमा बस्न नपाउने, जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेलगायतका सुझावहरू राखे ।
वागमती प्रदेशका तर्फबाट अध्यक्ष आनन्द पोखरेलले सुझाव प्रस्तुत गर्दै पार्टी र सरकारबीचको अन्तरविरोधका कारण अहिलेको अवस्था आएको भन्दै यसको सूक्ष्म ढंगले समीक्षा गर्नुपर्ने धारणा राखे । उनले एमसीसीका बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने धारणा पनि राखे ।

उनले बजेट विधेयकमार्फत सरकारले कालोधनलाई वैधानिकता दिने दुराशययुक्त प्रयास गरेको आरोप लगाउँदै पार्टीले यसको सशक्त विरोध गर्नुपर्ने बताए ।

शनिबार प्राप्त समूहगत छलफलमा नेताहरूले उपाध्यक्षको संख्या अझै बढाउनुपर्ने, उपहासचिव पद कायमै राख्नुपर्ने सुझाव दिएका छन् । हाल विधान संशोधन प्रस्तावमा पाँच उपाध्यक्ष प्रस्ताव गरिएको छ भने उपमहासचिव पद खारेज गर्ने प्रस्ताव छ । कर्णाली प्रदेश कमिटीका तर्फबाट सुझावहरू राख्दै अध्यक्ष गोरखबहादुर बोगटीले विधानमा वरिष्ठ उपाध्यक्ष पद थपिनुपर्ने र पोलिटब्युरोलाई कायमै राख्नुपर्ने सुझाव दिए ।

शनिबार पाँच समूहका टोली नेताहरूले सुझाव प्रस्तुत गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट