Logo

प्रेम आले र किसान श्रेष्ठ मन्त्रीबाट पुरस्कृत हुँदै



काठमाडौं, १७ असोज । कुनै अप्रत्याशित निर्णय भएमा बाहेक नेकपा एकीकृत समाजवादी पार्टीले प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाएर पुरस्कृत गर्ने भएको छ । नेकपा एमाले विभाजन हुँदा दुवैजनाले माधवकुमार नेपाललाई अन्तिम समयमा साथ दिएका थिए । उनीहरुको साथलाई धेरैले आश्चर्य मानेका थिए ।

प्रेम आले र किसान श्रेष्ठ दुवै प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरु लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा थिए । आले त ओली सरकारमा वनमन्त्री समेत बनाइएका थिए ।
आलेले पर्यटन र श्रेष्ठले उद्योगमन्त्री पाउने विश्वस्त स्रोतले बताएको छ । दुवैलाई मन्त्री बनाउन माधव नेपालले नै अडान लिने बुझिएको छ ।

महिलाबाट रामकुमारी झाँक्री मन्त्री बन्ने निश्चितप्रायः भएको छ । झाँक्रीले शिक्षा मन्त्रालय पाउने बुझिएको छ । उनले माधव नेपाललाई साथ दिदै आएकी छिन् । उनी ओलीविरुद्ध खरो रुपमा उत्रिएर चुनौती झेलेकी नेतामा पर्छिन् ।

विरोध खतिवडा पनि मन्त्री बन्ने पक्कापक्की भएको छ । उनको नाममा विगतमै सहमति भएको छ । खतिवडा पटक पटक सांसद बनेपनि मन्त्री बनेका थिएनन् ।

राष्ट्रिय सभाका सांसद शेरबहादुर कुँवर पनि मन्त्री बन्ने सूचीमा छन् । विगतमा अछामबाट चुनाव जितेका उनी पछिल्लो समय राष्ट्रियसभामा छन् ।



प्रतिक्रिया दिनुहोस्