Logo

‘अब सिंहदरबारमा खड्गप्रसाद ओलीको प्रवेश त उहाँको जिन्दगीमा समाप्तै भयो’ : झाँक्री



नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर सिंहदरबार प्रवेश गर्ने कुरा सम्भव नभएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्,‘अब सिंहदरबारमा खड्गप्रसाद ओलीको प्रवेश त उहाँको जिन्दगीमा समाप्तै भयो । जनादेशलाई कुल्चिएको व्यक्तिलाई फेरि पनि जनताले मौका दिन्छन् भन्ने नै लाग्दैन् । खड्गप्रसाद ओली र उनका ७० करोडदेखि सबै प्रकरणहरु सिंहदरबारमा छिर्नु चाहीँ करिब करिब अब अन्तिम नै हो । अब सम्भव छैन त्यो कुरा ।’ प्रस्तुत छ नेतृ झाँक्रीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

एमालेको प्रथम विधान महाधिवेशनलाई कसरी हेर्नुभएको छ ? केपी शर्मा ओलीमय भयो नि देश यतिखेर ?

व्यक्ति पूजा गरेर कम्युनिष्ट आन्दोलनलाई धरायशी बनाएको ईतिहास चाहीँ संसारभरि देखेको, सुनेको, पढेको हो । त्यसकारण उही कथामा पनि पढेको, फिल्ममा पनि देखेको जस्तो लाग्छ । यो एक प्रकारको कुम्भमेला हो । यो विचारविहीनहरुको व्यक्ति पूजा हो । अनि, व्यक्तिको शक्ति प्रदर्शन हो । त्यहाँ जम्मा भएका मान्छेहरुले कुनै विचार, विवेकको प्रयोग गरेका छन् जस्तो पनि लाग्दैन् । किनभने अग्ला अग्ला पुत्लाको प्रतिमा ठानेर, त्यसको मुनि होचो कदका मनुष्यरुपी मान्छेहरु नै निच्च हाँसकेको देखिन्छ । त्यसले गर्दा कम्युनिष्ट आन्दोलन साँच्चै धराशयी भएको थियो, त्यो दक्षिणपन्थी विसर्जनवादतर्फ गएको थियो र व्यक्तिवाद र अहंकारले त्यसलाई सकेको छ भनेर जुन निश्कर्षसाथ त्यो पार्टीबाट विद्रोह गर्यौं हामीले, त्यो चाहीँ सार्थक नै छ । सही नै छ भन्ने कुरा आज प्रमाणित भएको छ ।

अहिले एमालेका देशभरिका नेता÷कार्यकर्ताले त नेता भनेको त केपी शर्मा ओलीजस्तो भीजन भएको हुनुपर्छ भनेर एक स्वरमा भने नि ?

यस्तो हुन्छ, अन्धविश्वासमा अरु बाँच्ने साहरा भएन, व्यक्ति आफ्नो ढंगले बाँच्ने एउटा अस्तित्व कायम गर्न सकेन भने अलौकिक शक्तिमा विश्वास गरेर मान्छे बाँचिरहेको हुन्छ । अहिले कम्युनिष्ट आन्दोलनमा एमालेभित्र त्यसको विचार मरेको छ । त्यसको सिद्धान्त, नीति र आदर्श मरेको छ। त्यसले सही कार्यदिशा समात्न नसकेपछि व्यक्ति पूजाको हिसाबले अगाडि बढेको छ । विचार गलत भएपनि व्यक्ति सही छ भने गन्तव्यमा पुगिन्छ भन्नेखालका कार्यकर्ता उत्पादन भएका छन् । ती साँच्चै कार्यकर्ता छन् । कार्यकर्ता पनि दास छन्, ती चाकरहरुको हिसाबले विकसित भैरहेका छन् । त्यसो भएको हुनाले एउटा व्यक्ति शक्तिशाली छ, बनाउन खोजिँदैछ । र, त्यो शक्तिशाली व्यक्ति विचारविहीन, सिद्धान्तविहीन, दक्षिणपन्थको बाटोमा निरन्तर गतिमा अगाडि बढेको छ । त्यस्तो नेतृत्वलाई करेक्शन गर्नुको साटो अझै स्तुतिगान र जयजयगान गर्नु भनेको त्यो आन्दोलनलाई समाप्त गर्नु हो । र, समाप्त हुने बाटोतर्फ छ । हामी त धेरै पहिले नै विद्रोह गरेर सुरक्षित अवतरण गरेछौं भन्ने लाग्छ ।

तपाईँहरुले विद्रोह त गर्नुभयो, तर पार्टी बलियो बनाउन त सक्नुभएन नि ?

अब एक महिनापनि नबित्दै राष्ट्रव्यापी रुपमा जुन संगठन विस्तार भएको छ । त्यसले देखाउँछ कि हामीले कति द्रुत गतिमा पार्टी विस्तार गरेका छौं भन्ने पनि देखाउँछ । पार्टी विस्तार भएन भन्ने कुरा पनि भएन । सरकारमा हामी छिट्टै सहभागी हुदैछौं । तर, सरकारमा सहभागी हुनको लागि हाम्रा लागि केही कानून झन्झटहरु थिए । केही कुरा अप्ठ्यारा थिए । त्यसलाई हामीले अहिले किनारा लगाईसकेका छौं । अब धेरै छिटो यो पनि टुँगो लाग्नेछ । अर्को कुरा, एमाले पार्टी हामी सबैले, मेरो जिन्दगीको पनि धेरै नविनतम र उर्जावान समय पनि त्यही पार्टी निर्माण गर्न मैले पनि खर्च गरें । हामीसँग विद्रोह गरेर आएका सबै सहकर्मी, सिनियर नेताले खर्च गरेर बनाएको पार्टी हो । त्यसकारण स्वभावैले एमालेको सञ्जाल देशव्यापी हुनु पनि स्वभाविक नै हो । त्यति बलियो संगठनको संरचना भएको पार्टीको निरन्तर भत्किने क्रियाकलाप निरन्तर जारी छ । एमाले भत्किदैछ, हामी पूनर्गठित भएर जाँदैछौं । र, यहाँबाट निरन्तर विद्रोह जारी छ । त्यसो भएको भएर आजको दिनसम्म, तपाईँले भनेको ठीक हो, हामी पार्लियामेन्टमा चौथो ठूलो दल हौं । एमाले आजपनि पहिलो शक्तिको रुपमा छ । तर, पहिलो शक्ति दुई तिहाईको नजिक भएर आफ्नो अकर्मण्यताले राज्य सञ्चालन गर्न सक्दैन्, रुपान्तरणको दिशामा लैजान सक्दैन भने त्यो ठूलो शक्ति भएर के हुँदो रहेछ ? दुई तिहाईको सरकार सञ्चालन गर्न नसक्ने, पार्टीलाई सही दिशा दिन नसक्ने, ठूलो भएर पो के भयो त ? अहिले हामीले संविधानको धारा ७६ को ५ बमोजिम हामीले संसद्बाट प्रधानमन्त्री खोजेर भईदिनुहोस भन्ने अवस्था भयो । अकर्मण्य, अहंकारी, स्वेच्छाचारी, निरंकुश र व्यक्तिवादी एउटा दक्षिणपन्थको त्यो नेतृत्वमा जुन पार्टी बन्यो, त्यो पार्टी विघटन हुने प्रक्रिया त आजभन्दा ७ वर्ष पहिले नै सुरु भएको थियो । तर, हामीजस्ता धेरै मान्छे थियौैं, त्यसकारण त्यो थामिएको थियो । अब थामिनेवाला छैन् ।

एमालेले लिएको नीति र अध्यक्ष ओलीको नेतृत्वमा अघि बढ्दाखेरि आगामी निर्वाचनमा पनि एमाले पहिलो पार्टी बनेर फेरि पनि सरकारको नेतृत्व गर्न सक्छ कि सक्दैन् ?

अब सिंहदरबारमा खड्गप्रसाद ओलीको प्रवेश त उहाँको जिन्दगीमा समाप्तै भयो । जनादेशलाई कुल्चिएको व्यक्तिलाई फेरि पनि जनताले मौका दिन्छन् भन्ने नै लाग्दैन् । खड्गप्रसाद ओली र उनका ७० करोडदेखि सबै प्रकरणहरु सिंहदरबारमा छिर्नु चाहीँ करिब करिब अब अन्तिम नै हो । अब सम्भव छैन त्यो कुरा ।

उसो भए तपाईँहरु गठबन्धन गरेर नै जानुहुन्छ होईन ?

संविधान बचाउनको लागि पनि गठबन्धनको आवश्यकत्ता भयो । एकल पार्टीलाई जनताले बहुमत दियो, तर त्यसलाई सही ढंगले सञ्चालन गर्न सकेन भने त्यहाँभित्र शक्ति सन्तुलनको सिद्धान्तको विपरित जुन क्रियाकलाप भए । त्यसले गर्दा सरकार, मोर्चाको अवधारणा नै अगाडि बढ्नुपर्ने रहेछ भन्ने देखायो नि । हामी संयुक्त मोर्चामा जान्छौं । वामपन्थहरुलाई गोलबन्द गरेर एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने बाटोतर्फ पनि जान्छौं ।

मन्त्रिपरिषद् विस्तार नगर्दा अहिले चौतर्फी आलोचना भैरहेको छ नि ?

सामान्यतया यो हप्ता मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने नै थियो । अध्यादेश र अदालतको कुरा किनारा लागेको थियो । यही बिचमा नेताहरु विरामी हुनुभयो । अलिकति ढिलाई भयो । यो हप्ताभित्रै सरकारले पूर्णता पाउँछ । भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ ।

मन्त्रालयको भागबण्डा मिलिसकेको हो त ?

त्यो कुरा पार्टीबाट केही नेताले वार्ता तथा छलफल गरिरहनुभएको छ । म पनि बाहिर बाहिर नै छु । अध्यक्ष कमरेड विरामी हुनुहुन्छ । उहाँलाई राम्रो आरामको जरुरी भएकोले अहिले भेटवार्ता पनि बन्द गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्