Logo

एमालेमा १५ पदाधिकारीको प्रस्ताव, वरिष्ठसहित ५ उपाध्यक्ष



काठमाडौं, १७ असोज । नेकपा एमालेमा पदाधिकारी १५ जना हुने भएका छन् । आज विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले १५ पदाधिकारीको प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव पारित हुने निश्चित छ ।

१५ पदाधिकारीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव रहने प्रस्ताव छ ।

एमालको नवौं महाधिवेशनमा १ अध्यक्ष, १ वरिष्ठ नेता, ५ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ५ सचिवको व्यवस्था थियो । विधान महाधिवेशनमा पनि ३ उपाध्यक्षको संख्या प्रस्ताव गरिने तय भएको थियो । तर, महाधिवेशनका दौरान ७ प्रदेशमा ७ उपाध्यक्षको व्यवस्था गर्न माग आएको थियो ।

एमाले विभाजन भएपछि विकसित नयाँ घटनाक्रमपछि पदाधिकारी र निर्वाचन प्रक्रियामा समेत फेरबदल गर्ने तयारी भइसकेको थियो । अहिले एमालेमा नवौं महाधिवेशनबाट निर्वाचित कुनै पनि पदाधिकारी नेकपा एसमा गएका छैनन् । वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल मात्र नेकपा एसमा गएका छन् ।

पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरु बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली एमालेमै छन् । गौतमले राजीनामा घोषणा गरेपनि स्वीकृत भएको छैन । नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि उक्त पद खाली छ ।

महासचिवमा ईश्वर पोखरेल छन् । उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल एमालेमै छन् ।

सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ र भीम आचार्य एमालेमै छन् ।



प्रतिक्रिया दिनुहोस्