Logo

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता कात्तिकमा



असोज १७, काठमाण्डौ । मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता कात्तिकमा आयोजना हुने भएको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुने प्रतियोगिता कात्तिक ६ देखि १६ गतेसम्म हुनेछ । खेल एन्फा कम्प्लेक्समा हुनेछ भने फाइनल दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा १० देखि १६ टिमको सहभागिता रहने आयोजकले फुटबलर्स मिसन टुगेदरले आइतबार पत्रकार सम्मेलनबाट जानकारी गराएको छ । प्रतियोगितामा ३ जना ३५ वर्षमाथिको र बाँकी खेलाडी ४० वर्ष माथिको हुनुपर्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको प्रायोजक महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका रहने छन् । प्रतियोगिता सहभागिताको आधारमा लिगकम नकआउट र नकआउटको आधारमा खेलाईने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि कुल २५ लाख खर्च हुने अनिमान गरिएको छ । टिकटबाट उठेको रकमको अक्षयकोष खडा गर्दै विपन्न खेलाडीको स्वास्थ्य उपचारको लागि खर्च गरिनेछ ।

खेल जीवनपश्चात पनि स्वस्थ रहन र सबै पूर्व खेलाडीहरु, रेफ्रीहरु र प्रशिक्षकहरुलाई एउटै स्थलमा जमघट गरी सद्भाव, भाइचारा र मित्रता बढाउने उद्धेश्य रहेको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्