Logo

कालापहाडेसँग पैसा उठाएपछि नाकाका सबै प्रहरी परिवर्तन



काठमाडौं, असोज १८। भारतबाट दशैं मनाउन घर फर्किएका ‘कालापहाडे’सँग पैसा असुली गरेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको प्रहरी सेट नै परिवर्तन गरिएको छ । जनगुनासो आएपछि भन्सारका इन्चार्ज पनि परिवर्तन गरिएको छ ।

जमुनाहाको इन्चार्ज डीआईजीले पठाउने गर्दछन् । त्यहाँको इन्चार्जलाई जिल्लाका प्रमुखले चलाउन सक्दैनन् । दशैं मान्न घर फर्किएका कालापहाडेसँग खुलेआम पैसा असुली भइरहेको समाचार छ्याप्छ्याप्ती आएपछि हेडक्वाटरले नै चासो लिएको प्रहरीले स्रोतले बतायो ।

‘हेडक्वाटरले नै चासो लिएपछि जमुनाहाका इन्चार्जलाई परिवर्तन गर्न धेरै लेखापढी गर्नुपरेन’, एक अधिकृतले भने– ‘अहिले नयाँ टोली पठाएका छौं । अब जनगुनासो नआउला ।’

जमुनाहाबाट इन्चार्ज पूर्ण खत्रीसहित १८ जनालाई जिल्ला तानिएको छ । वडा कार्यालय, नेपालगञ्जबाट सई मीनबहादुर विष्टलाई जमुनाहामा पठाइएको छ । प्रहरीको छवि नै धमिल्याउने गरी नाकाका प्रहरीबाट भएको कमजोरीलाई आन्तरिकरूपमा कारबाही प्रक्रिया अघि बढाइएको छ । बाँके प्रहरीले नेपालगञ्ज भन्सारका सई अनुप ऐरीलाई पनि परिवर्तन गरेको छ । त्यहाँ अहिले लीला विकलाई पठाइएको छ ।

‘जनगुनासो आएको ठाउँका प्रहरीलाई परिवर्तन गरिएको छ ।’ –बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले भने ।कोरोनाको डरले हात नछुने भनिए पनि ठूलो भन्सार कार्यालय अगाडि बाटोमा जाँच गर्न उभिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले रिक्सामा बसेका, साइकलमा रहेका वा मोटरसाइकलको ह्यान्डलमा समातेर रोकेको जस्तो गरेर हात मिलाउने शैलीमा पैसा लिने गर्दछन् । यो दृश्य त्यहाँ बिहानदेखि बेलुकासम्म खुलेयाम देखिन्छ । आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ । file photo



प्रतिक्रिया दिनुहोस्