Logo

ट्याक्स हेभन मुलुकमा लगानी गर्ने १६ नेपालीमाथि गम्भीर छानबिन हुनुपर्छः अर्थविद् अधिकारी



काठमाडौं, असोज १८ । गैरकानुनी रुपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ट्याक्स हेभन मुलुकमा लगानी गरेका १६ नेपालीमाथि गम्भीर छानबिन हुनुपर्ने अर्थविद् चन्द्रमणि अधिकारीले बताएका छन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थविद् अधिकारीले भने, “ट्याक्स हेभन मुलुकमा लगानी गरेका नेपालीहरुबारे बर्सेनि रिपोर्ट आइरहेको छ । त्यसलाई सरकारले गम्भीर रुपमा लिएर सत्यतथ्य छानबिन गरी कानुनी कारबाही गर्नुपर्छ ।”

मुलुकमा कर छल्ने र सम्पत्ति लुकाउने प्रवृत्ति बढेको औंल्याउँदै अर्थविद् अधिकारीले तिनलाई कानुनी दायरामा ल्याउन ढिलो गर्न नहुने बताए । उनले भने, “जहाँ राज्य छ, सरकार छ र न्यायप्रणाली छ, त्यहाँ यस्ता गैरकानुनी काम भइरहने हो भने लोकतान्त्रिक देश किन भन्ने ? नेपालको कानुनले यहाँको पैसा विदेशमा लगानी गर्न लैजाने छुट दिएको छैन । सर्वसाधारणलाई एकथरी कारबाही, पहुँचवालालाई छुट हुन सक्दैन ।”

उनले नेपालका कतिपय कानुन अन्तर्राष्ट्रिय लगानीबारे स्पष्ट हुन नसकेको पनि बताए । उनले थपे, “कतिपय आर्थिक कुरा कानुनमै स्पष्ट छैनन् । कतिपयलाई समयमै कारबाही हुँदैन । त्यसो गर्दा आम्दानी लुकाउने, नभएको खर्चलाई खर्च भनिदिने, एउटाको खर्चलाई अर्को खर्च भनिदिने, एउटा कम्पनीको आम्दानीलाई अर्को आम्दानी भनिदिने प्रवृत्ति छ । कानुनमै कमजोरी र छिद्र भएकाले, कर प्रशासनको क्षमता कम भएकाले र नीतिगत भ्रष्टाचार गर्ने प्रवृत्तिले गर्दा समस्या आएको छ । कर नतिर्ने, बक्यौता राख्ने, राजनीतिक पहुँचका आधारमा पश्चदर्शी कानुन बनाएर छुट लिने र दिने काम पनि भएका छन् ।”

कालो धनलाई सेतो बनाउने प्रवृत्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्दीकरण आदि सरकारी निकाय प्रभावकारी हुन नसकेको उनले औंल्याए । अर्थतन्त्रलाई पारदर्शी बनाउनुपर्नेमा उनको जोड छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot