साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल श्रीलंकासँग भिड्दै


काठमाडौं, १८ असोज । साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज (सोमबार) दोस्रो खेल खेल्दैछ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाल आज श्रीलंकासँग भिड्दै छ । नेपाली समय अनुसार खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध जितका लागि खेल्ने बताएका छन् । उनले भनेका छन्, ‘हामीले ९० मिनेटसम्मै जितका लागि फाईट गर्नेछौ’ । तर, श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न कठिन हुने आँकलन गरिएको छ ।

नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई २२ वर्षपछि पराजित गरेको थियो । नेपालले पहिलो जितसँगै तीन अंक जोडेर शीर्ष स्थानमा रहेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
आजै हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।